यज्ञ श्रेष्ठ 

 धनकुटा। इन्द्र-मोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा  साहित्य, गीत सङ्गीत र पत्रकारिता विधामा दिएका योगदानका लागि प्रदान गरिने चार पुरस्कार र सम्मानको घोषणा गरेको छ । गुठीले यस वर्षको  डा. विमला श्रेष्ठ साहित्य पुरस्कार नेपाली  साहित्यको कविता र कथा विधामा दिएको योगदानका लागि कवि, कथाकार रुद्र ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी गुठीले यस वर्षको ओम- इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार, शब्दपथका प्रधान सम्पादक कवि, कथाकार किशोर पहाडीलाई र ओम _ इन्द्रमोहन गीत सङ्गीत पुरस्कार गायिका कुन्ती मोक्तानलाई समर्पण गर्ने निर्णय गरेको छ ।

 उक्त तिनै पुरस्कारको राशि जनही पचिस हजार  रहेको छ । कवि ज्ञवालीका निर्वासन, सपना फुल्ने रातहरू,विवरुका कथाहरू, उन्मुक्त आकाश, रुझेर अग्निवर्षामा,असल साथी, पात्रहरू, सीमान्त स्वर लगायतका कथा ,कविता, गजल र मुक्तक कृति  प्रकाशित छ्न् । यसै गरी साहित्य सिर्जनासँगै , विद्धुतिय सञ्चार माध्यम  शब्दपथ अनलाइन पत्रिकामार्फत  साहित्यिक  सूचना सम्प्रेषण, कृतिहरूको समालोचना ,समीक्षा र स्रष्टाहरूको रचना प्रकाशन र प्रसारण गरी  साहित्य विधामा योगदान दिएका पहाडीका  बाँच्नु र बाँचेकाहरू, घर खण्डहर, विशुदाइ , किम्वदन्ती, सर्वज्ञ र सेक्स , सहरमा बत्ती निभेका बेला लगायतका कथा कविताकृति प्रकाशित छन्  । 

गीत तथा सङ्गीत क्षेत्रमा समर्पित मोक्तानका माथि माथि सैलुङ्गमा, धरान धनकुटा ,, गोठालो जाँदा, खुट्टा   तान्दै गर, चोली राम्रो पाल्पाली ढाकाको लगायतका गीतहरू चर्चित छ्न् । यसैगरी यसै वर्षदेखि प्रदान गर्ने गरी स्थापना गरिएको डा. विमला साहित्य सम्मान कवि मञ्जूश्री गिरीलाई प्रदान गरिने भएको छ । सम्मान राशि रु १५०००/ पन्द्रह हजार रहेको छ । गिरीका अन्योल वसन्तको खोजीमा, लाखबत्ती र सपनाको सिरानी तीन कृति प्रकाशित छ्न् ।

 गुठीका प्रमुख संरक्षक डा.विमला श्रेष्ठको उपस्थिति र गुठीका 

अध्यक्ष  विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कारको संस्थापक कलाकार  स्व. ओमकार श्रेष्ठ हुनुहुन्थ्यो । उक्त पुरस्कारबाट दर्जनौं स्रष्टाहरू पुरस्कृत तथा सम्मानित भैसकेका छन् । उक्त पुरस्कार आगामी मंसिर १ एक गते विराटनगरमा समर्पण गरिने छ  ।