विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । बिहीबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाइएको हो ।
नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ वृद्धि गरिएको छ । साथै, एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ ।
यससँगै विराटनगरजस्ता क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१६.५० रुपैयाँ र डिजेल/मट्टितेल २०७ रुपैयाँ पुगेको छ भने ग्यासको मूल्य २०१० रुपैयाँ कायम भएको छ ।
सरकारले हालै कर कटौती गरे पनि त्यसको लाभ उपभोक्ताले पाउन नसकेको भन्दै आलोचना बढेको छ । निगमले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र घाटा कम गर्न मूल्य समायोजन गर्नुपरेको जनाएको छ ।




















