विराटनगर । आज वैदिक सनातन धर्मावलम्बीले कुशेऔँसी पर्व मनाउँदै जीवित बाबुको सम्मान तथा दिवंगत पितृको स्मरण गरेका छन्।
भाद्र कृष्ण औँसीका दिन पर्ने कुशेऔँसीमा देवकार्य तथा पितृकार्यमा प्रयोग हुने पवित्र कुश घरमा भित्र्याउने धार्मिक परम्परा रहेको छ। शास्त्रोक्त विधिअनुसार पूजा गरी उखेलिएको कुश घरमा राख्दा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ।
यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर श्रद्धा र सम्मान प्रकट गर्ने, बाबुको हातबाट आशीर्वाद लिने परम्परा छ। बाबु दिवंगत भएकाहरूले भने गोकर्णेश्वरलगायत विभिन्न तीर्थस्थलमा पुगेर पितृका नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्।
कुशेऔँसीका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ। दिवंगत बाबु तथा पितृको सम्झनामा तर्पण र पिण्डदान गर्न देशका विभिन्न स्थानबाट श्रद्धालु गोकर्णेश्वर पुग्ने गर्छन्।
जीवित बाबुको सेवा र सम्मान गर्नुका साथै दिवंगत पितृको सम्झना गर्ने दिनका रूपमा कुशेऔँसीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।




















