सिरहा । सिरहाको गोलबजार नगरपालिकाबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले असोज ३० गते सिरहाको गोलबजार नगरपालिका–४ बाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ का ३१ वर्षीय अजयकुमार यादव र सुखीपुर नगरपालिका–१० का २० वर्षीय अरविन्दकुमार यादव रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५३.०३ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल, एक थान डिजिटल तराजु र यामाहा एफजेड भी–३ मोटरसाइकल बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजार, सिरहामा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार बरामद परिमाणको खैरो हेरोइनमा १० देखि १५ वर्षसम्म कैद र एक लाखदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्युरोले जनाएको छ।