विराटनगर। असोज ३१ मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। असोज ३० गते प्रहरीले उनीहरूलाई विभिन्न प्रकारका लागूऔषधसहित पक्राउ गरेको हो।

मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–३ का सागर परियार र रूबिन लावती तथा बेलबारी–२ का बिप्लब खवासलाई प्रतिबन्धित औषधि ६ चक्कीसहित पक्राउ गरेको छ। सोही कार्यालयले २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो।

यसैगरी, प्रहरी चौकी रमाइलोले लेटाङ नगरपालिका–३ का ३३ वर्षीय फिरोजकुमार बि.क.लाई ६ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बसपार्कबाट इटहरी–१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो. नजामलाई ४२० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय बिप्लब थापालाई ११२ चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।