इटहरीको द स्टंन होटलमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित आठ जना पक्राउ
- कार्तिक १०, २०८३
- १७५ पटक पढिएको
सुनसरी ।सुनसरीको इटहरीस्थित द स्टंन होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद सहित सात बुक तास बरामद गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका–४, शान्तिचोकस्थित द स्टंन होटलमा जुवातास खेलिरहेको अवस्थामा आइतबार साँझ उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मोहन घिमिरेसहित आठ जना रहेका छन् । होटलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गर्दा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले घटनास्थलबाट बरामद गरेको नगद र तासलाई जुवासम्बन्धी कसुरको अनुसन्धानका लागि प्रमाणका रूपमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















