विराटनगर । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिपको ब्रेक फेल भएपछि सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक कटारी नगरपालिका–११ निवासी २९ वर्षीय निर्पबहादुर खड्कासहित १५ जना घाइते भएका छन्।

घाइते हुनेमा झापाको बिर्तामोड नगरपालिका–६ की ३७ वर्षीया मेनुका मगर (भुजेल), उनका १४ वर्षीय छोरा रेहान भुजेल र ७ वर्षीया छोरी प्रिन्सिका भुजेल रहेका छन्। त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ की १६ वर्षीया तेन्जु लामा पनि घाइते भएकी छन्।

यसैगरी, उदयपुरको कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगर, उनकी ३५ वर्षीया छोरी लिसना मगर, सोही नगरपालिका–२ की ६० वर्षीया गोमा श्रेष्ठ, वडा नम्बर ५ की ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दिक्षित दाहाल घाइते भएका छन्।

दुर्घटनामा कटारी नगरपालिका–११ की २१ वर्षीया निर्मला राउत, सोही स्थानकी २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु पनि घाइते भएका छन्। त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका–१ की ३५ वर्षीया कविता रेग्मी र सिन्धुलीको दुधौली नगरपालिका–११ का प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेल घाइते भएका छन्।

दुर्घटनामा घाइते भएकाहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

जिप चालक खड्का सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई नियन्त्रणमा लिइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।