कञ्चनपुर । कञ्चनपुरमा ४ किलो ३२४ ग्राम अवैध लागूऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २९ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीस्थित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–४ बसपार्कस्थित न्यू खण्ड नेपाल होटलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थायी घर भई हाल कञ्चनपुरमा बस्दै आएका ३५ वर्षीय सुरेन्द्रबहादुर बुढाथोकीले आफू बसेको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा ४ किलो ३२४ ग्राम अवैध लागूऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले चरेस बरामद गरी बुढाथोकीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।