पथलैयाबाट ८० हजार रुपैयाँका अवैध पटाकासहित दुई जना पक्राउ
- कार्तिक ११, २०८३
- ११७ पटक पढिएको
बारा।बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित चेकपोइन्टबाट प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको करिब ८० हजार रुपैयाँ मूल्य बराबरका पटाका बरामद गरेको छ। प्रहरीले पटाकासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
२०८३ कात्तिक १० गते बिहान करिब ८:३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको माछा लोड गरिएको पिकअपलाई चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएका विभिन्न सात प्रकारका ६४ डिब्बा पटाका बरामद गरेको हो।
पटाकासहित रौतहटको राजपुर कुडिया नगरपालिका–५ निवासी २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ निवासी २६ वर्षीय राधाकृष्ण सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बरामद पटाकामा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेको छ।
बरामद पटाकाको कुल अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।




















