बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानपती सामुदायिक वनबाट प्रहरीले लुकाइछिपाई राखिएको तीन नाल भरुवा बन्दुक बरामद गरेको छ।

शुक्रबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा उक्त बन्दुक बरामद गरेको हो।

प्रहरीका अनुसार सामुदायिक वनभित्र रहेको बाँसको झ्याङमा लुकाइछिपाई राखिएको अवस्थामा तीन थान एकनाले भरुवा बन्दुक फेला परेको थियो।

बरामद गरिएका भरुवा बन्दुक कसले र के प्रयोजनका लागि लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।