महिलाहरुको महान चाड तिज व्रत, शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो
- भदौ २९, २०८३
- ३५ पटक पढिएको
विराटनगर।भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज शिव–पार्वतीको पूजा आराधना, उपासना र व्रत गरी मनाइँदै छ । पारिवारिक सुख, शान्ति, समृद्धि र कल्याणको कामनासहित बिहानैदेखि विभिन्न शिवालयमा भक्तजनको भीड लागेको छ ।
शिवालयहरूमा बिहानैदेखि पूजाआजा र दर्शनका लागि भक्तजनको चहलपहल बढेको हो। महिला तथा पुरुष भक्तजन शिवालय पुगेर महादेव र पार्वतीको पूजा, जल तथा अन्य सामग्री अर्पण गर्दै व्रतको संकल्प लिइरहेका छन् ।
धार्मिक मान्यताअनुसार भाद्र शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा तथा उपासना गरेमा मनोकामना पूरा हुनुका साथै परिवारमा सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास रहेको लक्ष्मी रायमाझीले जानकारी दिइन्।
पौराणिक कथाअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न गौरीघाटमा बसेर कठोर तपस्या गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूलाई समस्या सुनाएकी थिइन् । त्यसपछि साथीहरूले पार्वतीलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखेका थिए ।
साथीहरूले लुकाएको त्यही स्थानमा पार्वतीले निराहार व्रत र तपस्या गरी महादेवलाई पतिकोरूपमा प्राप्त गरेको धार्मिक विश्वास छ । पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।




















