कविता : भूकम्प
बिजुलीको खम्बा हल्लियाे
तार हल्लियाे
रूखहरू हल्लिए
हल्लिए गगन चुम्बि घरहरू
उडे आकाशमा चराहरू
कुकुर भुक्याे
कुखुरा करायाे
कराए वस्तुभाउहरू जाेडजाेडले
यसरी
हल्लिरहेकाे थियाे
वरिपरिकाे वातावरण
बाटोमा निक्लिरहेका थिए
सम्भ्रान्तहरू र
कराउँदै थिए
भूकम्प आयो भनेर ....!
यतिका चिजबिज
हल्लाए पनि
अनेकौं दुःख, कष्ट र धाेका
खाएर हल्लिएकाे याे मन
अहँ हल्लिएकाे थिएन रत्तिभर
न चालेको थियाे एक कदम
सायद
अनेकौं दुःख , कष्ट र धाेखा
खानेहरूकाे मन
यस्तैहाेला नहल्लिने
नछुने कुनै सानाे कुराले
किनकि
गरिबका घरहरूबाट
काेहीपनि निक्लिएका थिएनन् बाटोमा
हल्लागर्नेहरूकाे भिडमा
हल्लिएँ भनेर ....!
शुभ-प्रभात !
बिहानीकाे खबरमा
हेडलाईन भएर
आएकाे थियाे याे खबर
कि गएको भूकम्पमा परेर
लाखौं जनमालकाे खति र
त्याे सबै गरिबकाे वस्तिमा
परेकाे भनेर ...!!
प्रिन्स-प्रमाेद कुमार ढकाल
विराटनगर - १०




















