जाडो होस गर्मि होस 

न पोल्ने घाम न जुनको शितल 

न दिन न रात 

जब देखि मेरो सिँउदो पुछियो

केहि महसुस हुँदैन चुरा फुटे टिका गाजल केहि लाउनु हुँदैन 

विरानो सुख्खा बगर जस्तै भएर बाच्नुपर्छ

भन्छन् 

ओठमा लाली अनुहारमा पाउडर छैन

आजभोलि मलाई 

सबै श्रिङ्गार देखि बन्चित गरिएको छ

लाखौंको गहना लागाए पनि 

खुसी दिदैन 

दस रुपैयाँको सिंदुरले मेरा 

ओठहरू मुस्कुराउँथे 

छन्छन बज्ने हातका 

चुराले म जिउँदै हुनुको आभास दिलाउँथ्यो 

सिंदुर पुछियो म मरे तुल्य भएकी छु अचेल

मेरो मुस्कान खोसिएको छ 

सोचेर पाइला सार्नुपछ पाइलै पिच्छे समाजको खबदारि छ 

किन कि म विधुवा हुँ!


रङ्ग देखि टाढा हुनुपर्छ 

मनोरञ्जनले छुनु हुँदैन अरे

मन बिरक्त छ म आफैं 

हतास छु विरक्तिएकी छु

के गरौं के नगरौं 

केहि लाउँ के नलाउँ 

भन्ने निर्णय लिन नसक्ने

अवस्थामा पुगेकी छु

रमाएर हिडौं भय छ समाजको 

ठुलो स्वरले हाँस्न हुँदैन 

मैले छोएको पानी चल्दैन 

कुनै पुजा शुभ कार्यमा मठ मन्दिरमा सामिल हुनु हुँदैन

मेरो छायाले पनि अनीष्ट हुन्छ भन्छन् 

धर्मको नाममा चर्चा बटुल्ने 

मठाधिशहरू किन कि म विधुवा हुँ!


प्रथाको नाम दिएर कुप्रथाको लौरो 

लिएर उभिन्छ समाज मेरो उपस्थितमा 

म आफैं आफ्नो प्रिय मान्छेको 

वियोगमा 

विछिप्त छु

त्यसैमाथि मलाई 

अधिकार दिइदैन कुनै

श्रिङ्गारले श्रीङ्गारिन रातो पहिरन देखि बहिस्कार भएकि छु  

पिडामा छु

मेरो अबिरल आँसुको कुनै मुल्य छैन  वेदनाको कुनै पर्वाह छैन 

छ त केवल रितिको नाममा 

दिइने कुरीतिको नमिठो 

थप्पड प्रथाको नाममा दिइने 

भोग्नै नसक्ने दण्ड कुप्रथाको लाठी 

बर्सिन्छ म माथि भग्नावसेस जस्तै

हुनुपर्छ भन्छन् मेरो जीवन 

किन कि म विधुवा हुँ !


विवश बन्नुपर्छ लाचार

अनि कम्जोर हुन 

मन असान्त छ अमिलो भएर कुडिएको छ

मेरो बोली बिक्न सक्दैन अब 

सम्वेदनाको नाममा दिइने

नितिको बजारमा

सहानुभूति भन्दा धेरै 

रङ्गहिन बनाउन तयार हुन्छन् 

सेतो टालोमा लपेटिएको उजाड जिन्दगी 

जिउन बाध्य बनाउछ समाजले

किन कि 

म विधुवा हुँ !!

अजिता प्रधान 

विराटनगर