‘पुर्पुरो पनि कस्तो अभागी । जन्मदा पनि पुर्पुरो मात्र लिएर जन्मेछु । हात, खुट्टा न शरीर ।’ ‘त्यसैले त गुडन र उडन पाएको छस् ।’ सिठी दाइ बोल्यो
‘के गर्नु सिठी दाइ, अरु त हातले कुटाई खान्छन् । आफु त बुट लाएको लात्तले बजारिनु परेको छ । वल्लो र पल्लो छेउ । मरिसकेपछि पनि मुक्ति पाइएन । टुक्रा टुक्रामा विभक्त हुनु । काटिनु, घोचिनु, सिलाईनु, नक्कली भुँडी हालेर फुलाइनु,अनि अरुलाई खुसी पार्न बुटका लात्तले हिर्काइनु । बन्दुकको गोली झैँ गएर गोलपोस्टभित्र छिर्नु, लाखौँलाई खुसी पार्नु, हजारौँलाई रुवाउनु यो मेरो कस्तो जन्म ? संझन्छु अझ त्यो मेरो क्रिकेट बल भाइलाई कस्तो होला ?’
‘अरुलाई दुःख दिएर आफु रमाउनु, के यही हो खेल ? गोलपोष्टमा छिर्न सकिन त किन रुनु ? म नछिरेको हुँ र ? उसले छिराउन नसकेको न हो, मलाई किन सराप्नु । छेउ,तल, माथि, कुनो, सिधा, बाङ्गो जहाँबाट पनि मैले छिर्नै पर्ने ? यी मान्छेहरु मलाई हेर्न आएका कि लात्तले हिर्काउने खेलाडी हेर्न ? मैले अनगिन्ती चोट खाएर पनि गुडनै पर्ने, आकासिनै पर्ने, गोल भएर खुसी बाँडनै पर्ने, अनि सबै नगद पुरस्कार, पदकहरु, कपहरु तिनै लात्तेहरुले पाउने ? बरु ती झण्डे दाइहरु मलाई केही सहानुभूति दर्शाउँछन् सिठी दाइ ।’
‘हजारौँ चोट खाएर, घाउहरु सुमसुम्याउँदै एक्लै जमिनको कुनामा लडिरहेको हुन्छु । कसैको हातमै परिहाले उसले पनि उचाल्दै पछार्दै गरिरहेको हुन्छ बल्ल बुझ्दै छु संसारमा हलुका हुन नहुने रहेछ । नामले के गर्नु ? मैले जति चोट कसले भोगेको होला ? गोल ! गोल ! गोल ! संसार गोल ! बुझ्दैन मान्छे जीवन खेल, विजयमा एक चुम्बन अनमोल ।’
चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १




















