"अर्धशताब्दी" लघुकथा सङ्ग्रह पढ्दै गर्दा, "अभुक्त" शीर्षकको दोस्रो लघुकथाले मलाई सुरुमै आकर्षित गर्यो। "ए बुढा! खै पैसा निकाल त।" "हैन कहाँबाट ल्याउनु पैसा?" "अस्ति भर्खर तिमीले पाएका हैनौ?" "कहिलेको कुरा गरेकी तिमीले?" "धेरै दायाँबायाँको कुरा गर्ने हैन है बुढा। त्यो सम्मान समारोहमा पाएको रकम खुरुक्क निकाल त। चिसो चुल्हो तताउनु पर्यो।" यस संवादले समाजमा साहित्यकार तथा लेखकको वर्तमान अवस्थाको यथार्थपरक चित्रण गरेको छ। "हजुर यो नगद चाहिँ संस्थालाई सहयोग स्वरूप झिकें है" भन्ने आयोजकको वाक्य बुढाको कानमा गुन्जिन थालेपछि कथाको मर्म अझ प्रस्ट हुन्छ। यो लघुकथाको सन्देश र मारक क्षमताले पाठकलाई झक्झकाउँछ। वर्षायामको चरनमा गुइँठाबाट उम्रिएको च्याउजस्तै साहित्य संस्थाको सम्मान कार्यक्रमको वास्तविकतालाई यति सूक्ष्म तरिकाले प्रस्तुत गर्दा पनि कसैले पत्तो नपाउने गरी शब्द संयोजन गर्नु र थोरै शब्दमा धेरै कुरा बुझाउनु यस लघुकथाको विशेषता हो। यो लघुकथा पढेर मन प्रफुल्ल भयो।
मनीष कुमार शर्मा "समित" द्वारा लिखित यो लघुकथा सङ्ग्रह "अभिलाष" लाई पहिलो लघुकथा बनाएर सुरु भएको छ भने "अवमूल्यन" लाई पचासौं लघुकथा बनाएर विश्राम लिएको छ। सिर्जना अभियान समाजद्वारा प्रकाशित यो लघुकथा सङ्ग्रह वि.सं. २०८१ मंसिर २० गते पाठकका लागि उपलब्ध भए पनि मैले यो पुस्तक २०८२ बैशाखमा साहित्य संगम नुवाकोटको वार्षिकोत्सवको अवसरमा उपहार स्वरूप प्राप्त गरें।
पुस्तकको आरम्भमा ध्रुव मधिकर्मीद्वारा लिखित "मनीष कुमार शर्माको नयाँ परिचय" शीर्षकको लेखमा लेखकको भूतकालको लेखन र वर्तमानमा भएको प्रगतिको सप्रसङ्ग व्याख्या गरिएको छ। उहाँले लेखकको लेखन यात्राका विविध परिस्थिति र परिश्रमबारे स्पष्ट पार्नुभएको छ।
त्यस्तै, खेमराज पोखरेलले "अर्धशताब्दी"ले उधिनेको अन्तर्य शीर्षकमा यस सङ्ग्रहको बहाव, उतारचढाव, प्रभाव, वेग र यसले देखाएका सामाजिक, राजनैतिक, प्राकृतिक दृश्य तथा लेखकको निर्भीकताका बारेमा खुलस्त पार्नुभएको छ।
लेखकीय अभिव्यक्तिमा आदरणीय लेखकले वर्तमानमा भावनाका गद्यांशलाई छोट्याएर शीर्षक दिएर लघुकथा भन्ने लेखकको भेल चलेको सन्दर्भमा आफूले भिन्न शैली ल्याउने प्रयत्न गरेको बताउनुभएको छ। उहाँले शैलीमा मात्रै नभएर शीर्षकमा पनि भिन्नता हुनुपर्छ भन्दै फरक स्वर र स्वादका ५० वटा शीर्षक समावेश गरेको उल्लेख गर्नुभएको छ। साथै, यो कृति प्रकाशन गर्न सहयोग गर्ने सबैलाई उहाँले सम्झना गर्नुभएको छ।
विषयसूचीमा रहेका ५० वटा लघुकथाका शीर्षकले भित्रको प्रस्तुतिबारे उत्सुकता जगाउँछन्। अति साहित्यिक लाग्नेदेखि दूरदराजका गाउँमा बोलिने ठेठ गाउँले शब्दले लघुकथाको शीर्षकको स्थानमा बसेर कौतुहलता बढाएका छन्।
यस कृतिमा मानव मस्तिष्कले जीवित मानवको इच्छापूर्तिको सामर्थ्य नराख्ने भाव सटिक तर मार्मिक रूपमा प्रस्तुत गरिएको छ। "पुर्ताल" मा अदालतले बाआमाको परिश्रममा नाचेका सन्तानको नाकको डाँडी भाँचिदिएको छ। "प्रतिकृति" लघुकथाले नारीको प्रतिकृतिमाथि पनि उत्तेजित हुने पुरुष मनोभावले पुरुषलाई लज्जित हुने अवस्थामा पुर्याउँछ। "दीक्षामन्त्र" मार्फत अन्धभक्तमा चेतना ल्याउने प्रयास गरिएको छ। "प्रत्याघात" भित्रको गहन सन्देश, "कुचोद्य" को कारुणिक र मैमत्त भाव, "भड्खालो" ले खन्नेलाई आफूतिर तानेको भाव, "भुस्याहा" को तीखो तीर जस्ता लघुकथाहरू खीरझैँ छन्—दूध, चामल, गुलियो, मसला सबै ठिक्क मिलेको।
वाक्पति
"कठै! ती लालाबालाको बिजोग हुने भयो।"
"बरा! अझै कति सास्ती बेहोर्नुपर्ने हो?"
"कमाईको मूल नै सुक्यो। कसरी गरिखालान् त परिवारले?"
दिनहुँ यस्ता कारुणिक सहानुभूतिहरूले उनी आजित थिए। उच्च रक्तचापका कारण पक्षघात भइ देब्रे हात नचल्ने र वाक्शक्ति क्षीण भएको थियो। निख्लो संवेदित शब्दहरू बोकेर पीडाको व्यापार गर्न आउने वाक्पतिहरूको लर्को धेरै हुन थाल्यो। प्रत्येकलाई उनको आँखाले अस्वीकृति र आवेग छल्काउँथ्यो।
केही समयदेखि दिक्क भएका उनलाई अब हाइसन्च भएको थियो। कसैले आफ्नो मुख खोल्नुपूर्व सामुन्ने रहेको सूचना पाटीतिर इसारा गर्थे।
सूचना थियो—"कृपया बिचरोको संज्ञा नदिनु होला, मेरो आत्मबल अझै मरेको छैन।"
"वाक्पति" शीर्षकको यो लघुकथा मार्फत लेखक विषयको गहिराइमा डुबेको स्पष्ट हुन्छ।
त्यस्तै गरेर 'प्रतितर्क', 'प्रतिरुपण' जस्ता लघुकथासँगै 'किरन्टोकी' र 'अपकृत' जस्ता लघुकथाले बिम्ब, प्रतीक र मारक क्षमताको अद्वितीय कौशल प्रस्तुत गरेको पाइन्छ। 'नव्यता', 'विनिमय', 'शून्यक', 'कर्तव्यमूढ', 'ज्यालादार', 'लायकिलो' जस्ता लघुकथा शीर्षक अनुरूप गहन छन्।
अन्धदौड
शरीरका अङ्गप्रत्यङ्ग सबै दौडमा थिए। अरू प्रतिस्पर्धीलाई जित्न नदिन, मस्तिष्कले नेतृत्व गर्दै जित्ने उपाय सोच्यो र सबैलाई कोर्रा लगायो।
आदेश बमोजिम खुट्टा बेजोडले कुद्यो। उसको कुदाइमा हातले पनि साथ दियो। अवरोध छल्न आँखाले डोर्यायो। निकै सकसपछि गन्तव्यमा पुगे।
उपरखुट्टी लगाउँदै खुट्टाले भन्यो—"यो जित मेरो हो।"
आँखा पनि के कम, उसले पनि चुनौती दिँदै भन्यो—"भो, धेरै खोक्नु पर्दैन। म नभएको भए तिम्रो पाइला पनि सर्दैनथ्यो।"
उता हातले पनि थपिहाल्यो—"मैले पनि थकाइको बेला मालिस नगरेको भए तिमी पहिले नै पक्षाघात हुन्थ्यौ।"
हारजितको मामलामा सबै अङ्गप्रत्यङ्गबिच चर्काचर्की पर्न थाल्यो। यो देखेर आजित मस्तिष्कले एकपटक विगत फर्केर हेर्यो र सोच्न थाल्यो—"यी सारा दौडहरू केका लागि थिए?"
"अन्धदौड" शीर्षकको लघुकथाले सामाजिक परिवेशलाई बिम्बात्मक प्रस्तुति मार्फत झकझकाएको छ।
विकृत नीति मार्फत राजनैतिक कुरितीमा प्रहार गर्ने मनीष कुमार शर्मा जी अदृश्य भाइरस मार्फत रोग र उपचार बिचको प्रतिस्पर्धा खोतल्नुभएको पाइन्छ। नैतिक प्रतिरोध, जनक, जोहो, अपूर्व झोली, स्मृतिक्षय, विषवृक्ष सँगै बयरको रुखले समाजका विविध परिप्रेक्ष्य र स्वरूप उजागर गरेका छन्। राजनैतिक आबद्धताले मानिसमा मल र चामललाई आफ्नो हित र स्वार्थ अनुकूल व्याख्या गर्ने परिपाटीको कुसंस्कारलाई "वर्णान्ध" लघुकथाले छर्लङ्ग पारेको छ।
अवमूल्यन
हजुरबा र नातिको हाजिरीजवाफ चलिनै रहन्थ्यो। आज पनि बिहानैदेखि चलेको थियो।
"हजुरबा ल भन्नुस् त हजार ठूलो कि करोड?" अचानक नातिले प्रश्न गर्यो।
"कहाँ? नेपालमा कि विदेशमा?" हजुरबाले प्रतिप्रश्न गरे।
"जहाँ भए पनि।" नातिले जवाफ दियो।
"नेपालमा भए हजार ठूलो, विदेशमा भए करोड।" हजुरबाले सहज जवाफ दिए।
"ह्या...! हजुरबालाई केही पनि आउँदैन रहेछ। अनुहार चाउरी परिसक्यो अहिलेसम्म हजार ठूलो कि करोड थाहा नै छैन। त्यही भएर त कमाउन नसक्नु भएको रहेछ।" नाति खित्का छाड्दै र हजुरबालाई गिज्याउँदै अर्को कोठातिर लग्यो।
हजुरबा मुसुमुसु हाँस्दै नजिकैको दैनिक पत्रिकाको शीर्ष लेखमा आँखा लगाउन थाले—लेखको शीर्षक थियो—पाँच हजार घुस लिँदालिँदै कर्मचारी पक्राउ।
"अवमूल्यन" शीर्षकको अन्तिम लघुकथामा पैसाको मूल्य स्तर र आवश्यकता अनुसार हुन्छ र थाहा भएका सबै कुरा देखेजस्तै सपाट हुँदैनन् भन्ने भावलाई कसिलो रूपमा प्रस्तुत गर्नुभएको छ मनीष कुमार शर्मा जीले।
अन्तमा, "अर्धशताब्दी" ले लघुकथा लेखनमा नजानिँदो पाराले एउटा गहन प्रयोग गरेको छ। साथै, लघुकथा लेखनमा सिद्धहस्त लघुकथाकारलाई आलोचनात्मक मात्र होइन, प्रयोगात्मक हुन बाध्य पारेको देखिन्छ। नव लघुकथाकारलाई लामो गद्यको अंशलाई काटेर शीर्षक राख्दैमा लघुकथा हुँदैन, लघुकथा सबै स्वाद आफूमा बोकेको र सबै सामग्रीको चिनारी दिनसक्ने अचार हो भन्ने सन्देश दिएको छ। संवादात्मक वाक्यको उचित प्रयोग गर्दै बिम्बले सजिएका र सबै खाले रसलाई कथामा घुलन गराएर पाठकको मथिंगल घुमाउन सक्षम लघुकथाहरूको सङ्गालो "अर्धशताब्दी" लाई र कृतिकार मनीष कुमार शर्मा 'समित' जी लाई साहित्यिक जीवनको यात्रामा अनन्त सफलताको कामना गर्दछु।
शम्भु गजुरेल "कुनाघरे काइँलो"




















