सुकुनाबाट अलिकति अघाडि पुगेपछि सिर्जनले  चालकलाई गाडी मोड्न लगाए। गाडी गेटबाट भित्र  पस्यो, शान्त, सित्तल चिया बगानको बाटो। सुनेका थिए रातसाँझ यो बाटो हिँड्न अलिक डर हुन्छ, जङ्गली हात्तीको बथान हिँड्छ। हातमा ज्यान राखेर बगानका मजदुरहरू पसिना बगाउँदा हुन् ।

 समय अपराह्न चार बजेर अलिक बेसी भएको हुनपर्छ स्कूल छुट्टी भएर नानीहरू इत्रिंदै, ढुङ्गा हान्दै खेल्दै घरतर्फ जाँदै थिए।  गाडी गुल्मा टी फ्याक्ट्रीबाट अलिक पर बनिँदै गरेको पुल काटेर हर्न बजाउँदै अगाडि बढिरहेको थियो, बाबाले चलाउँदै  गरेको साइकलको पछाडिपट्टी त्यस्तै सात आठ वर्षकी  छोरी उभिएकी थिइन ।  लड्छु भनेर नानीले बाबाको कठालोमा बेस्सरी समाएकी थिइन्।  गर्मी थियो, छोरी साइकलको पछाडी उभिएर बाबाको कुममा समाएर हावाको आनन्दमा रमाइरहेकी थिइन्। चालकले साइकललाई  पास माङ्न हर्न बजायो गाडीको आवाज सुनेर साइकलवालाले छेउ लागेर गाडीलाई पास दियो । साइकलको पछाडि उभिएकी सानी नानीले गाडी र गाडीमा बसेका सृजना र सृजनलाई  हेरेर मुसुक्क हाँसिन्, पछिल्लो सीटमा बसेकी सृजनाले शिशा तल झारेर नानीको हाँसोलाई  समर्थन गर्दै आफू पनि हाँसिन् । नानीको  मन्द मुस्कान देखेर  सृजनले पनि गाडीको खिड्कीबाट हात बाहिर निकालेर बाइबाई गरे।

    नानीले सृजनको प्रतिउत्तरमा टाउको हल्लाएर ठूलो हँसाइले बाइबाई गरिन् । गाडी अघाडि  लाग्यो ।

    सृजनाले सृजनलाई भनिन्,"नानी कति ज्ञानि हो कि ! यदि नानीले बाबाको कठालोबाट हात उठाएर बाइबाई  फर्काएकी भए कस्तो घटना हुने थियो नि !" सृजनाले मनमनै भगवानलाई धन्यवाद दिंदै भनिन्, सबैलाई यस्तै सद्बुद्धि दिउन् । सृजन भने अघाडि बसेर आफैँलाई धिक्कारिरहेका थिए। 


-गीताश्री शर्मा

    गान्तोक, सिक्किम