उ फर्केन

अब फर्किदैन पनि

बा ! "म मेरो देशका अकर्मण्य शासकहरूको 

कालो मैलो चित्त पखाल्न हिडेको है

भरे फर्किदा ढिलो/चाँडो के हुन्छ,थाहा छैन

नाआत्तिनु ल,ढिलो भएछु भने पनि!

वास्तवमा आफैलाई गिज्याउन थालीसक्यो

चन्द्रसुर्य माथी लागेको कुशासनको ग्रहणले

हेर्दै कुरुप देखिन थाल्यो दुनियाँ आँखामा

सुर्यका प्रभाती किरणले हिउँ झै टल्किने

संसारकै सबैभन्दा शुन्दर मेरो देश

मेरी आमाले तातो रगत रोपेर फलाएको 

रक्तिम गणतन्त्र ।


कहिले सम्म खेप्नु 

कसरी सहनु बा !

सत्ता शक्तिको रछ्यान चाटेर बसेका

यो देशका गणतान्त्रिक झिँगाहहरूको....,

लाचारी पनले फैलिदै गएको

यो दुर्गन्ध,यो घिनलाग्दो गन्दगी 

अब सफा चम्किलो पारेर मात्रै फर्किन्छु बा!

मेरो माटो र मुटुको सिमाना।


फेरि फर्केन

अब फर्किदैन पनि

यत्ती भनेर हिडेको मेरो छोरो

क.बिहानी र मेरो प्रेमको

पहिलो तथा अन्तिम निसानी

रक्तक्रान्तिको कोखबाट जन्मेको रक्तबिज.....।

सायद

आमा सङ्गै लिन भयो उ फेरि एकपटक 

दीर्घकालीन जनयुद्धको भीषण आँधिबेहरी बिच

मंगलसेनको ओरालो झरेर 

रामारोसनको गन्तव्य तय गर्दै गर्दा

निरंकुश फाँसीबादी शासकहरू द्वारा 

निर्मम हत्या गरिएकि बिहानीको गर्भ च्यातेर

बचाईएको मेरो छोरा।


अहँ फर्केन

अब फर्किदैन पनि

उस्कै आमाको रगतले लेखिएको 

युगिन ईतिहासलाई उल्ट्याएर

उल्टो बाटो हिडेका मूर्ख शासकहरूको

बहुलट्ठी पनले निम्त्याएको

युवा पुस्ताको सुनामीले खप्लक्कै निल्यो..,

मेरो प्राण भन्दा प्यारो रक्तबिजलाई

सुन्दैछु

एकै पटक ढले हरे,सिंहदरबार र उ।


मैले त 

त्यतीबेलै भनेको हुँ

भाँडाको घरको सिंढी झर्दै गर्दा

क्रान्ती निर्मम हुन्छ छोरा !

जतिबेला जे पनि हुन सक्छ

आखिर त्यै भयो,जे नहुनु थियो

क्षणभरमै शाहादातको लाममा उभियो 

दशबर्ष लामो जनयुद्धका भीषण हमलाहरूबाट

जतनले जोगाएको उ

न त खाराको आगोले छोयो उस्लाई

न होलेरीको हवाईगस्तिले भेट्यो

मेरो छात्तिमा टाँस्सिएरै सहि,खुब नाचेको उ बेला

दुनै कब्जा गरेको बिजयी साँझमा..........,

हो!

 त्यही दिन तातेताते गर्दै 

पहिलो पटक आफ्नै खुट्टाले हिडेको हो उ

जुनदिन बेनी हमलामा मैले मेरो खुट्टा गुमाए

यो देशको आमूल परिवर्तनका खातिर।


सम्झिदा

भक्कानो फुटेर आउँछ

मेरो जिबनको सहयात्री,सहयोद्धा

क.बिहानी सङ्गको दर्दनाक बिछोडपछि

बालख्ख छोरो छातीमा टाँसेर बैरिसँग लडेका ती दिनहरू

कैयुदिन त पानी समेत पाएनन् 

आमाको दूध चुस्न नसिव नभएका 

उस्का कलिला ओठहरूले

कैयुपटक त 

घरेलु बमको भकुण्डो खेल्दाखेल्दै जोगियो उ

रारालीमा झण्डै झण्डै सङ्गसङ्गै जलेनौ बाउ-छोरा

हामी सुतेको छानोमा दुश्मनले आगो लगाई दिएपछि....।


अन्ततः 

पलभरमै हार्न विवश भए म 

बदनाम शासकहरूको बदनियतपुर्ण बदलासँग

दस दस बर्ष लामो दीर्घकालीन जनयुद्ध जितेर पनि

मलाई माफ गर क. बिहानी 

मैले जोगाउन सकिन तिम्रो-मेरो प्रेमको अन्तिम नासो

मेरो पहिलो तथा अन्तिम सपना।


कसरी थामु म

साउन झै रसाउने यी आँसुका भेल

कसोरी सम्झाउ म यो दुखेको मन

टुक्रीएको मुटुलाई 

कसरी सम्हालिउ म

आमा बिनै हुर्काएको जेहेन्दार छोराको साहार बिना

अब कस्को मुख हेरेर बाँचु खोइ ?

उस्को अनुहार हेरेर तिम्रो नियाश्रो मेटेने बानी परेको म

एकाएक मेरो भन्नू सबथोक सकियो

मेरो जीवनको अर्थ पनि सकियो "बिहानी"

भाद्र २३को स्तब्ध साँझमा

हाम्रो सपनाको दियो निभेपछि......

तिम्रै मार्ग पछ्यायो रक्तबिजले पनि


उ फर्केन 

अब फर्किदैन पनि

आखिर तिम्रै रक्त न हो............,

रक्तबिज!! रक्तबिज!! रक्तबिज!!


एमपी पाण्डे