नेपालको राजनैतिक चिन्तन प्रवाहमा अनगिन्ती पटक दोहोर्याईने गरेका वाक्यमा "वीपीले भन्नु भएको थियो" अनि "मदन भण्डारीले भन्नु भएको थियो" अग्रस्थानमा पर्ने गर्दछन ।
यी वाक्यहरु लगातार प्रयोग हुनु कुनै नराम्रो कुरा विल्कुलै होईनन । बरु आफ्ना आस्थाका अनि आफुले मानेका महापुरुषहरु प्रतिको श्रद्धा हो । यस्ता प्रकारको श्रद्धा हुनु नै पर्दछ भन्ने सोचाईसंग विमति राख्न खोजिएको पनि हैन । तर यसको अत्याधिक प्रयोगले एक नयाँ चिन्तनको दिशा भने देखाएको छ ।
समय, प्रसंग र स्थान अनुसार कसैलाई संझिनु , तिनको मार्गदर्शन सम्झनु तथा ती मार्ग अनुसरण गर्नु पक्कै राम्रो कुरा हो , यसमा कुनै संशय छैन र हुनु पनि हुँदैन ।
हमेशा परिवर्तशिल र प्रगतिपथमा लागेको मानव समाजमा थप चिन्तन पनि आवश्यक हुन्छ । मुल चिन्तनको आधारमा त्यसलाई परिष्कृत गर्दै लैजाने र समय सापेक्ष बनाउदै उनीहरुको चिन्तनलाई कालजयी बनाउने काम हुनु पर्दछ ।
केवल वहाले यसो भन्नुभएको थियोको जप गायत्री मन्त्र जस्तो गरेर गर्दा वहाहरुको त्यो भनाई त्यही युुगमा मात्र सिमित रहन जान्छ जुन युगमा वहाहरु सशरिर उपस्थित हुनु हुन्थ्यो ।
कुनै विचारको समाप्ती तब हुन्छ जव त्यो विचारले आधुनिक युगका बदलिएका आवश्यकता र मान्यता आत्मसात गर्न सक्दैन । फ्रेडरिक एंगेल्स र कार्ल मार्क्सले प्रतिपादन गरेको सिद्धान्तलाई लेनिन , माओ आदिले थप परिष्कार नगरेका भए के हुन्थ्यो होला ?
चिन्तनको बिउ कुनै कालखण्डमा एक सानो झिल्कोको रुपमा जन्मन्छ । कति झिल्काहरु त्यसै खेर पनि जान्छन । कुनै कुनैलाई कसैले टिपेर फिलुङ्गो बनाउछ, अर्कोले त्यसलाई ज्वाला । जुन ज्वालालाई त्यस पछिकाले त्यसमा परिष्कारको इन्धन थप्दै प्रयोग गर्दै जान्छन त्यो कालजयी बन्छ ।
जुन ज्वालालाई केवल त्यसैको मात्र उर्जामा सिमित गरेर स्तुति गायनमात्र गरिन्छ त्यसको उल्लेख केवल इतिहासमा मात्र सिमित हुन्छ । हरेक दिन फलानाले भनेको भनेर उल्लेख मात्र गर्ने हो भने त्यसमा परिष्करण हुुन सक्ने गुन्जाईस छैन भन्ने बुझ्नु पर्ने हुन्छ ।
यस्तो अवस्थामा समाजमा नयाँ चेतना र चिन्तन जन्मने बाटो बन्द हुन्छ । यसका उदाहरण उनीहरुले जीवन पर्यान्त सिचेका दलहरुका अधिवेशनहरुमा प्रष्ट देखा पर्ने गर्दछ ।
सामान्यतया अधिवेशनहरु परिष्करण गर्ने कार्यनीति र भावी रणनीतिहरु तय गर्ने सर्वोच्च प्रकृया हुन । दुई अधिवेशनका बीचमा अनगिन्ती बैठकहरु, अनेकौ सम्मेलनहरु, कयौ आपसी छलफलहरु भईसकेका हुन्छन भन्ने मानिन्छ ।
अधिवेशनहरुमा नेतृत्व चयन पनि हुने गर्दछ । तर अधिवेशनहरुको एकमात्र लक्ष नेतृत्व चयन भने होईन । परिष्कृत कुराहरुको निमित्त पुरानो नेतृत्व ठिक पनि हुन सक्छ वा नयाँ नेतृत्वले उर्जा दिने पनि हुन सक्छ ।
त्यसैले अधिवेशनहरुमा नेतृत्व परिवर्तनको परिपाटी भएको हो । विगतका कतिपय संगठनहरुका कतिपय अधिवेशनहरुमा केवल नेतृत्व परिवर्तनको निमित्त हुने प्रतिस्पर्धाले मात्र प्रमुखता पाएको देखिनु अव त्यहाँ थप चिन्तनको आवश्यकता नै महशुस नभएको कुराको प्रदर्शन हो ।
चाहे यो कुरा गर्न नखोजिएको होस वा कर्मकाण्डी रुपले अन्य कुराहरु गरिएको विधि पुर्याईएको होस यसले जाने सन्देश यहि हो ।
अव चिन्तकहरुको अभाव छ वा चिन्तकहरुको कुनै महत्व छैन भन्ने लाग्नु समाज समयको गतिसगको दौडमा पछाडी पर्नु हो । वीपीको एक भनाई सामुन्ने राखेर विवेचन गर्दा यो कुरा सरल हुनसक्छ ।
जुन उनको कालखण्ड थियो, समाजको जुन अवस्था थियो त्यसमा उनले एक सुखी नागरिकको कल्पना गरे , ‘एउटा सानो घर होस, जोत्ने केही जमिन होस र एक हल गोरु होस, एक लैनो गाई होस ’ ।
त्यो वेला यति प्राप्तिले आफुलाई सुखी महशुस गर्ने नागरिक वर्तमानमा यसलाई सुखी जीवन मान्छ त ? पक्कै मान्दैन । के यो चिन्तनलाई परिष्कार गर्ने प्रयत्न भयो ? भएको थाहा छैन ।
प्रजातान्त्रिक समाजवादमा र वीपीमा आस्था भएका मध्ये कतिले जुनसुकै समय सन्दर्भमा पनि वीपीले भन्नुभएको भनेर यसलाई हमेशा उल्लेख गरेका हुन्छन ।
सिधा अर्थमा नागरिकको दाना, नाना र छानाको आवश्यकता पुर्ति हुनु पर्दछ भन्ने यो भनाईलाई समयको दौड अनुसार अगाडी बढेको समाजमा उपयुक्त हुने गरेर परिमार्जन गर्न हुन्न र ? जव नेपाली चिन्तकहरु वीपीको, मदन भण्डारीको यस्ता भनाईहरु उल्लेखमा मात्र आफुलाई सिमित राख्छन परिमार्जनमा रुची देखाउन्नन समाज एकै स्थानमा अडेर बस्छ ।
यहाँ यो भन्न खोजिएको हैन कि यी भनाईहरु गलत छन , मात्र भन्न खोजिएको कुरो के हो भने अव यी भनाईहरु अपुर्ण हुन थाले ।
समाजको, समयको भाँडो ठूलो भयो , आवश्यकताका सुचीहरु परिवर्तन भएर लामा भए । त्यसकारण यी भनाईहरु अपुर्ण हुन थाले परिमार्जन नहुने हो भने यस्ता भनाईहरुले अव मान्छेलाई प्रभावित गर्न छोड्छ ।
आजको शिक्षा कम्प्यूटर र इन्टरनेटको अनुपस्थितमा असंभव प्राय: भै सकेको छ । हप्तौ लगाएर चिठ्ठी मार्फत सुचना आदानप्रदानको युग समाप्त भई सकेको छ ।
विगतको नीजि विद्यालयहरुलाई शिक्षाको व्यापार भनेर भन्ने आफ्ना केटाकेटीहरुको निमित्त राम्रो नीजि विद्यालयको खोजिमा छन ।
शहरीकरणमा आकर्षण बढेको छ, ‘उत्तम खेती, मध्यम व्यापार, अधम नोकरी’ भन्ने भनाई परिमार्जन भएको छ । अवको भनाई ‘उत्तम व्यापार, मध्यम नोकरी, अधम खेती’ भईसकेको छ ।
अव यो वेला हो फलानाले भन्नु भएको थियो हैन फलानाको सोच अनुसार भनेर परिमार्जित चिन्तन अगाडी राखेर आफ्नो आस्थाका धरोहरहरुलाई कालजयी बनाउने ।
अधिवेशनहरुमा उम्मेद्वारी र मतदानलाई दोश्रो प्राथमिकतामा राखेर समयानुकुल चिन्तनलाई पहिलो स्थानमा राख्ने । नत्र आज केटाकेटी भएका पिढी जवान हुँदा पनि आफुलाई योग्य मानुन भनेर चाहाने हो भने योग्यता देखाउनै पर्दछ , त्यसको निमित्त मेहेनत गर्नै पर्दछ ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।१०।१७
(खेश्रा- परिमार्जित अन्नपूर्ण दैनिक)




















