विराटनगर ।निर्मला कोइरालाद्वारा सम्पादक समालोचनासङग्रह अक्षरको यात्री  विमोचन भएको छ।

 साहित्यकार निर्मला कोइरालाको समालोचना विधाको सशक्त उपस्थिति झल्काउने कृति ‘अक्षरको यात्री’ सार्वजनिक गरिएको हो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार विराटनगरस्थित एलिट क्लबको सभाहलमा आयोजित साहित्यकार निर्मला कोइरालाद्वारा सम्पादित उक्त समालोचना संग्रह लोकार्पण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहाल, कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख बाबुराम तिम्सिना, प्राज्ञ खेम नेपाली, गंगा सुवेदी तथा बलराम पोखरेललगायतको  उपस्थिति रहेको थियो ।

१६ जना साहित्यकारका कृतिमाथि आधारित समालोचनात्मक लेख समेटिएको ‘अक्षरको यात्री’ले नेपाली साहित्यका विविध धार र प्रवृत्तिको समीक्षात्मक विश्लेषण प्रस्तुत गरेको जनाइएको छ । संग्रहमा वरिष्ठ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि पछिल्लो पुस्तासम्मका सिर्जनाहरूको आलोचनात्मक अध्ययन समावेश गरिएको छ।जसले पुस्तान्तरबीचको साहित्यिक क्षेत्रमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले नेपाली साहित्यमा समालोचना विधाको प्रभाव विस्तार हुँदै गएको व्यक्त  गरे । “सिर्जनाको मूल्याङ्कन र विश्लेषणले साहित्यलाई परिष्कृत मात्र बनाउँदैन, यसले नयाँ सिर्जनाका लागि मार्गदर्शन पनि गर्छ, उनले भने । उनका अनुसार स्वस्थ समालोचना बिना साहित्यको दिगो विकास सम्भव छैन ।

कार्यक्रममा वक्ताहरूले ‘अक्षरको यात्री’ले समालोचनालाई केवल आलोचना नभई बौद्धिक विमर्शको माध्यमका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । उनीहरूले समकालीन साहित्यिक बहसलाई थप समृद्ध बनाउन यस्ता कृतिहरू आवश्यक रहेको धारणा राखे ।

20260321_113422

सम्पादक निर्मला कोइरालाले कृतिले नेपाली साहित्यका विविध आयामलाई तथ्यपरक र सन्तुलित दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको बताइन् । “समालोचना केवल समीक्षा होइन, यो पाठक र सर्जकबीचको संवाद हो,उनले भनिन्, यस्तो संवादले साहित्यलाई अझ जीवन्त र उत्तरदायी बनाउँछ ।

विवश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गोकुल अधिकारीले गरेका थिए। कार्यक्रममा सहभागी साहित्यकारहरूले कृतिमा समेटिएका विषयवस्तुमाथि समीक्षा गर्दै समालोचना परम्परालाई सुदृढ बनाउने दिशामा यो संग्रह महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।


20260321_11484020260321_11341420260321_124218