...✍️✍️
कवि
रीता पाठक
विराटनगर ३
मर्दा मर्दै बाँचेकाहरू हामी
अनि बाँच्दा बाँच्दै पनि मरेकाहरू हामी
सर्वश्व गुमाएर निर्धन भएकाहरू
जिजीविषाको चाँङ वोकेर
आऊ मिठो भ्रममा बाँचौ
आऊ एउटा नाटक गरौं
दशै मनाए झैं गरौं ।
जीवन रङ्गमञ्च नै त हो आखिर
त्यसैले सुहाउँदो अभिनय गरौं'
आऊ अब दशैं मञ्चन गरौं ।
ओहो! दशै त सङ्घार मै आइपुगेछ
मरिसकेका आशाहरुको कुरा गरौं
बगिसकेका भरोसाहरुका कुरा गरौं
अब जोहो र जतनका कुरा गरौं
किनमेलका योजनाका कुरा गरौं ।
अभावका झोला बोकेर तिमी बजार जानू
महङ्गी ठूलो मुख बाएर बसको छ त्यहीँ
सर्लक्कै निल्ला होस् गर्नु ।
सापटीका ढोकाहरूमा भोटे ताल्चा छ
त्यता नजानु,
बरु सपनाहरु सिला खोजेर झोलामा ल्याउनु
म त्यै सपनामा रमाउँला
दशै यसै गरी मनाउँला ।
म कमेरोले घर पोते जस्तै गर्छु
तिमी ढिकी कुटे जस्तै गर्नु
तिमी अभावको मालश्री गाउनु
म पीडाको सितार बजाउँछु
केराको घरी, खल्पीको अचार
सम्झदै पुगिहाल्छ ।
सुन्ने छ गाउँ, सुन्ने छ घर
निष्पट्ट अन्धकार
भय, त्रास ,आतेस र आशङ्का
घर पछाडिको ठूलो ढिस्को
कति बेला खस्ने हो
यो चोला कति बेला वस्ने हो
बेखवर !!
अँ साँच्ची !
बुबा मन्नु हुन्थ्यो
नानी!दशैंमा भुइँ छाड्नु पिङ खेल्नु
हो त, पिङ खेल्नै पर्छ
तिमी भरोशाका लिङ्गाहरु गाड्नु
आशाका पोयाहरु मिलाएर
बाबियोको लठारो बाट्नु
म त्यही लठारोमा चचहुई गर्दै भुइँ छोडौँला ।
अभाव पिडा र शोकको पिर्कामा बसेर
सदिऔदेखि रोटेपिङ्ग त खेलिरहेछ जिन्दगी
यो पटकको दशैंमा झन् ठूलो रोटेपिङ्ग खेलौला ।
यो पटक लेकमा गुराँस फुलेनन्
बेसीमा चराहरु कराएनन्
मार हान्नै परेन
राईमाइलाहरु घर फर्किएनन् उतै जीवन थमाए
हाम्रा मुटुहरु प्रवासमा छन् उतै रमाए
मुटु विहिन यान्त्रिक मानव हामी
आउँ नाटक गरिरहूँ
दशै यसैगरी मानी रहुँ।
टिकाको दिन तिमी टीका मुछ्नु
म जमरा सजाई दिउँला
मोवाइलमा टावर आउला सायद
साइत छोपेर टिका लाइदिउँला
नत्र तस्बिर मै काम चलाउँला
आधुनिक दशैं तस्बिर मै मनाउँला ।
तिमी हाँसे जस्तो गर्नु म रमाए जस्तो गर्छु
तिमी गाए जस्तो गर्नु म नाचे जस्तो गर्छु
एउरा मिठो भ्रममा यसैगरी बाँचौं
भ्रममय यो जीवन बाँच्दै जाऔं
यो दशै यसरी नै मनाऔं
यो दशै यसरी नै मनाऔं ।
रीता पाठक
विराटनगर ३




















