धनगढी ,कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका थिए । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । 

गाउँका ‘गुरुवा’ (थारू समुदायको देउता) मनोज चौधरीले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा आफूमाथि कुटपिट भएको हसिनाले बताएकि छन्  ।

उनका अनुसार २५ वर्षीय मनोजलाई गुरुवा आएको भन्दै पुस १ गते दिउँसो सबै परिवारबाट एक–एक हजार उठाइएको थियो । उनले पनि माइतीबाट एक हजार मागेर बुझाएकी थिइन् । राति ८ बजेतिर घरमै बच्चा स्याहार्दै बसेका बेला रामलाल चौधरी, करन चौधरी र जयराम चौधरी आए ।

‘तँ बोक्सी होस्, हामीलाई सताउँछेस् भन्दै मलाई घरभित्रबाट निकालेर आँगनमा कुट्न थाले,’ उनले सुनाइन्, ‘जयरामका छोरा रमेशले कुटपिट गर्न नहुने भन्दै आफ्नो बुबालगायतलाई फर्काएर लगेका थिए।’