अर्थात् झाेला बाेक्ने मान्छे 

झाेला अर्थात् भारी

भारी अर्थात् अभिभारा 

अभिभारा अर्थात् दायित्व 

दायित्व अर्थात् देशप्रतिकाे उत्तरदायित्व 

देश अर्थात् मेराे पहिचान 

मेराे पहिचान अर्थात् मेराे देश


यसरी

म देश सँग जाेडिएकाे

देशकाे अभिभारा बाेकेर हिँड्ने 

बाेकेर हिँड्ने अर्थात् झाेले

झाेले अर्थात् म

म अर्थात् झाेले !


हिजोआज 

बिग्रेको छ परिवेश

गर्न सकिएको छैन कहिल्यै 

देश-विकासकाे रेस 

आएदिन भएको छ यहाँ 

भ्रष्टाचारको केश

उब्जिएको छ एकअर्कामा 

नराम्रो द्वेष 

भत्केकाे छ उसैगरी 

घरघरकाे बेस ....!


म सल्लाह माग्दछु

यस्तो विकराल 

परिस्थितिबाट उम्कन

मातहतबाट,

आउँछन् हरकाेही

खाली झाेला लिएर

बिल्कुल विचारबाट शून्य 

जदाै गर्छन्, सलामी गर्छन् 

नमन गर्छन्  र  लम्पसार पर्छन् र

आफ्नो स्वार्थ पूूरा गर्छन् र जान्छन् 

उल्टै याेजना, निर्माण,  ठेक्का, कमिसन आदि

आर्थिक उपार्जनका जुक्ति लिई  

त्यही खाली झाेला भरेर

अहँ दिँदैनन् काेही

असल सल्लाह 

म यस्तै केही गफ गर्दै थिएँ

आफ्ना दाैँतरीहरू सँग 

चाैतारीमा बसेर ....!


त्यसै बिच 

अलि पर बसेर 

हाम्रा कुरा सुनिरहेका 

एक युवक एक्कासि  

उठेर भने 

हाे त्यही 

विचार शून्य 

झाेला बाेकेर हिँड्ने 

जदाैकार, सलामीकार,

नमनकार र 

लम्पसारवादीलाई 

झाेले भनिन्छ

बुझ्नुभयाे बा भनेर !


प्रिन्स-प्रमाेद कुमार ढकाल

विराटनगर -१०