हरेक दिन 

नयाँनयाँ आदर्शका कुरा 

सिर्जना गर्दै

त्यो घरको 

कौसीमा बस्दै 

बाहिरको 

हावापानीमा 

स्वरूप हेर्दै 

त्यसैको विषयमा 

केही कुरा लेख्न

सक्नु पनि 

सिर्जनाको मुहान हो  भन्दै

जति बग्यो त्यति 

झन्‌झन् बग्ने बनाउने 

सिर्जना 

कहिले 

हावाको वेग त 

कहिले 

वर्षात 

अनि ती बिजुली चम्किएकाे 

गगन 

त्यो  चर्चाको घाम

हरेक बस्तीका 

कुनाकुनामा बग्ने 

अनि गलत पक्षको

खोइरो खन्दै विजय

र सत्यताको माटोले

ती खाडलहरू पुरेर 

एउटा विशाल 

लक्ष्यका साथ 

यात्रा गरिरहने

अटुट यात्रा

जसलाई 

कसैले रोक्न 

र छेक्न नसक्ने 

दबाउन नसक्ने

जति दबाउन खोज्यो 

उति नै प्रस्फुटन हुने

मानवभित्रको अद्भुत 

क्षमता नै

सिर्जनाका मुहानहरु हुन्!!


सञ्जना शर्मा लमही दाङ