विराटनगर।भदौ १५ । नेपाल शिक्षक महासंघ मोरङ जिल्ला समितिले आन्दोलनलाई निरन्तरता दिँदै शिक्षा विकास तथा समन्वय इकाइ विराटनगर, मोरङमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।
पालिकाबाट सुरु भएको आन्दोलन जिल्लातर्फ पुगेकोमा महासंघले अब प्रदेशतर्फ आन्दोलनलाई विस्तार गर्ने चेतावनी दिएको छ । "हाम्रो आन्दोलन जारी छ, खबरदारी जारी छ," आन्दोलनमा संलग्न शिक्षकहरूले उद्घोष गरेका थिए ।
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानको माग गर्दै शिक्षक महासंघले ज्ञापनपत्र बुझाएको छ भने त्यसपछि प्रतीकात्मक धर्ना कार्यक्रम गरिएको हो ।
महासंघले आन्दोलनलाई प्रचारात्मक चरणसम्म पुर्याएको बताउँदै माग पूरा नभएसम्म दबाब निरन्तर रहने स्पष्ट पारेको छ ।




















