विराटनगर।खोटाङ,महान चाड विजया दशमी नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ। गाउँघरका मानिसहरू घर आँगन सफा गर्ने, पुराना भित्ताभरि माटो र गोबरले लिपपोत गर्ने काममा व्यस्त देखिएका छन्।
धेरै जसो घरहरुको छानोजस्ताले लगाएपनी भित्तो भने माटो र गोबरले लिप्ने प्रचलन छ।
परम्परागत रूपमा दशैं आउनु अघि घर लिपपोत गर्ने चलन अझै पनि जीवितनै रहेको छ। माटो र गोबर मिसाएर भित्ताभरि लगाउँदा घर सफा मात्र नभई चोखो रहने र आकर्षक देखिन्छ भन्ने विश्वास रहिआएको छ। साथै यसले वातावरण शुद्ध पार्ने र घरलाई कीटाणु मुक्त बनाउन सहयोग गर्ने जनविश्वास छ।
वर्षभरि कै सबैभन्दा ठूलो चाडका रूपमा दशैंलाई मानिने भएकाले गाउँघरमा सरसफाइसँगै नयाँ कपडा, मिठा परिकार, टिका जमराको तयारीमा सबै उमेर समूहका मानिसहरू उत्साहित देखिन्छन्। महिलादेखि पुरुषसम्म भित्तामा रातो माटो, कमेरोले लिपपोत गर्ने, बालबालिकाले घर–आँगन सजाउने काममा हातेमालो गरिरहेका छन्।
यसरी दशैं नजिकिँदै जाँदा खोटाङका गाउँघरमा घर लिपपोत, सरसफाइ र तयारीले उत्सवमय वातावरण सृजना गरेको छ।




















