विराटनगर । अरनिको स्कुलले दुई दिने आफ्नो ४९औँ वार्षिक उत्सव विविध शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमसहित सुरु गरेको छ। विद्यालय परिसरमा आयोजित उद्घाटन समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा सुरु भएको हो। उद्घाटन अध्यक्ष अधिकारीले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यमा आधारित शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि वार्षिक उत्सवजस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

विद्यालयका प्रिन्सिपल राजेश कार्कीले सम्पुर्ण शिक्षक शिक्षिकालाइ धन्यवाद दिँदै अरनिको स्कुलको शैक्षिक प्रगति, परीक्षाफल, सह–पाठ्यक्रम गतिविधि तथा आगामी शैक्षिक योजनाबारे जानकारी गराए। उनले वार्षिक उत्सवले विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्न, आत्मविश्वास बढाउन र सिर्जनात्मक क्षमता विकास गर्न सहयोग पुग्ने बताए।
उद्घाटन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिका–१० का वडा अध्यक्ष अर्जुन गिरीले शिक्षाले समाजको समग्र विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै अरनिको स्कुलले विगत ४९ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा गरे। उनले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यले शिक्षाको स्तर अझ मजबुत बन्ने धारणा व्यक्त गरे।
वार्षिक उत्सवअन्तर्गत विद्यार्थीहरूले नृत्य, गीत, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुति देखाएका छन्।





















