विराटनगर । नेपाल भाषा, कला तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्‍याउँदै आएका गणेशराम लाछि ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन्।

नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झी पुचः’ विराटनगरले शुक्रबार आयोजना गरेको कार्यक्रममा लाछिलाई नगद दुई लाख रुपैयाँसहित उक्त सम्मान प्रदान गरिएको हो। मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक लाछिले लामो समयदेखि नेपाल भाषा र नेवारी सांस्कृतिक परम्पराको जगेर्नामा सक्रिय भूमिका खेल्दै आएका छन्।

समारोहमा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले लाछिलाई दोसल्ला ओढाएर नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै भाषा र संस्कृतिको संरक्षणमा उनको योगदान महत्वपूर्ण रहेको बताए।

मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त देश भएकाले यहाँका मौलिक भाषा, कला र परम्पराको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गरे। उनले राज्य र सामाजिक संस्थाहरूले संस्कृति जोगाउने अभियानलाई अझ सशक्त बनाउनुपर्ने उल्लेख गरे।

कार्यक्रमका आयोजक झी पुचःका अध्यक्ष शरद श्रेष्ठले गणेशराम लाछिले नेपाल भाषा तथा नेवारी संस्कृतिको संरक्षणमा निरन्तर योगदान दिँदै आएकाले उनलाई सम्मान गरिएको जानकारी दिए।


20260313_17461120260313_174657

समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी कपिला श्रेष्ठको नाममा स्थापना गरिएको ‘सुदर्शन–कपिला ट्रष्ट’मार्फत प्रदान गरिने यो सम्मान हरेक दुई वर्षमा एकपटक भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिने व्यवस्था छ।

यसअघि उक्त सम्मान संस्कृतिविद सत्यमोहन जोशी, सिक्किमस्थित नेवार गुठी तथा पोखराको नेवा खल कास्कीलाई प्रदान गरिसकिएको छ।

कार्यक्रममा दबुली नेपालका अध्यक्ष सन्तोष प्रजापति, संस्कृतिविद सूर्यनारायण प्रधान, झी पुचःका संरक्षक राजन श्रेष्ठलगायतले नेपालका मौलिक भाषा र संस्कृतिको संरक्षणमा सबै तहका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

उक्त अवसरमा लेखक दिनेश श्रेष्ठको सम्पादनमा तयार गरिएको स्मारिकाको विमोचन पनि गरिएको थियो। कार्यक्रममा कलाकार सृविका गुभाजुले प्रस्तुत गरेको चरिया नृत्यले दर्शकको ध्यान आकर्षित गरेको थियो।

नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले नेवारी भाषा, कला र संस्कृतिको संरक्षणका लागि विगतदेखि विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।


20260313_17365020260313_174326