विराटनगर । सुनसरीको इटहरीस्थित एक क्याफे तथा आईसक्रिम पार्लरमा बुधबार अचानक आगलागी भएको छ। इटहरी उपमहानगरपालिका–६ मा सञ्चालित ‘पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लर’बाट सुरु भएको आगो तीव्र गतिमा फैलिएको थियो।आगो नियन्त्रण आउन नसक्दा आसपासका घर तथा व्यवसायिक संरचनाहरू उच्च जोखिममा परेका छन् ।
स्थानीयका अनुसार केही बेरअघि अचानक धुवाँ निस्किएसँगै आगलागी सुरु भएको हो ।आगो नियन्त्रणमा लिन नसक्दा आगोले क्याफेको ठूलो भाग क्षतिग्रस्त बनाएको आशंका गरिएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयवासीहरू सक्रिय रूपमा खटिएका छन् । आगो नियन्त्रणका लागि इटहरीसहित आसपासका पालिकाबाट समेत दमकल झिकाइएको जनाइएको छ । घना बस्तीको बीचमा रहेको संरचनामा आगलागी भएकाले नियन्त्रण कार्य चुनौतीपूर्ण देखिएको छ ।
आगलागीको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । विद्युत सर्ट सर्किट वा भान्सासम्बन्धी उपकरणबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि आधिकारिक पुष्टि भइसकेको छैन ।
मानवीय क्षतिको विवरण तत्काल प्राप्त नभए पनि भौतिक क्षति ठूलो हुनसक्ने आँकलन गरिएको छ ।




















