रंगेली ।मोरङ — मोरङको रंगेली नगरपालिका–८ स्थित महालक्ष्मी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि विद्यालय क्याप्टेन तथा उप–क्याप्टेन चयन गर्न निर्वाचन सम्पन्न गरिएको छ।
विद्यालयले विद्यार्थीलाई लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले निर्वाचन आयोजना गरेको हो। कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी भएको निर्वाचनमा ९२.५ प्रतिशत मत खसेको विद्यालयले जनाएको छ।
निर्वाचनमा निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीको भूमिका समेत विद्यार्थीहरूले नै निर्वाह गरेका थिए। मतदानका लागि स्वस्तिक चिह्न, मतपेटिका, मतदाता लाइन व्यवस्थापन तथा आवश्यक अन्य व्यवस्थापनका सम्पूर्ण कार्य विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न गरिएको थियो।
विद्यालयका अनुसार यस अभ्यासले विद्यार्थीहरूलाई निर्वाचनको महत्व, प्रक्रिया र लोकतान्त्रिक प्रणालीबारे प्रत्यक्ष अनुभव प्रदान गरेको छ। सामाजिक अध्ययन विषयअन्तर्गत कक्षा ६ देखि १० सम्मका पाठ्यक्रममा समेटिएका निर्वाचनसम्बन्धी अवधारणालाई व्यवहारमा उतार्दै विद्यालयले नेतृत्व चयन प्रक्रिया निर्वाचनमार्फत सम्पन्न गरेको हो।
विद्यालय प्रशासनले यस्ता गतिविधिले विद्यार्थीमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र नागरिक चेतनाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।























