जनकपुरधाम।साउन २ — मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि थप तीन वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यार्थीको आकर्षण बढ्दै गएपछि विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा नयाँ कार्यक्रम विस्तार गर्न लागेको हो।


विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार यस शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) तथा स्नातक तहमा ब्याचलर अफ ल (एलएलबी) र ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) को पठनपाठन सुरु गरिनेछ।


हाल विश्वविद्यालयमा स्नातकोत्तर तहमा मास्टर्स अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए), कानुन सङ्कायतर्फ बीए–एलएलबी तथा जनप्रशासन सङ्कायतर्फ ब्याचलर अफ पब्लिक म्यानेजमेन्ट (बीपीएम) कार्यक्रम सञ्चालनमा छन्।


रजिष्ट्रार यादवले तीनवटै नयाँ कार्यक्रमका पाठ्यक्रम तयार भइसकेको र यही शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी पूरा भएको बताए। "भर्नासम्बन्धी सूचना छिट्टै सार्वजनिक गर्छौं," उनले भने।


२०७९ भदौ २२ गते स्थापना भएको मधेस विश्वविद्यालयले पहिलो वर्षदेखि नै दुई सङ्कायमार्फत पठनपाठन सुरु गरेको थियो। हाल विश्वविद्यालयले वीरगञ्जस्थित नेसनल ट्रेडिङको भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ।


विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्य ले अनुसन्धान र प्रशिक्षणलाई केन्द्रमा राखेर शिक्षणलाई गुणस्तरीय बनाउने लक्ष्यसहित प्रदेशकै पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना रहेको बताए।


उनका अनुसार विश्वविद्यालयले आगामी दिनमा मेडिकल, ल्याब टेक्नोलोजी, फिजियोथेरापी लगायत स्वास्थ्य विज्ञानका कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरेको छ। प्रारम्भिक चरणमा वीरगञ्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्दै एमबीबीएस कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ।


उपकुलपति शाक्यले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउने उद्देश्यले भविष्यमा एमफिल–पीएचडी, फार्मेसी, विज्ञान तथा सूचना प्रविधिसम्बन्धी प्राविधिक कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको जानकारी दिएका छन्।


त्यसैगरी, ग्रामीण क्षेत्रका युवालाई सीपयुक्त उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले प्रदेशमै पहिलो ‘मधेस सीप स्कुल’ स्थापना गर्ने तयारी भइरहेको उनले बताए। उनका अनुसार शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्दै दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको दीर्घकालीन लक्ष्य रहेको बताए।