विराटनगर। उच्च अदालत विराटनगरको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित ऐतिहासिक काली मन्दिरको अतिक्रमित जग्गा र भवन बिहीबार खाली गराई मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।

मेनरोड पश्चिमतर्फ रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन पुजारी केशवप्रसाद ढकालको नाममा दर्ता भएको थियो। पछि उक्त जग्गामा निजी आवास निर्माण गरिएको थियो। लामो कानुनी प्रक्रियापछि उच्च अदालतले जग्गा मन्दिरकै सम्पत्ति भएको ठहर गर्दै मन्दिर व्यवस्थापन समितिको पक्षमा फैसला सुनाएको थियो।

अदालतको आदेशअनुसार प्रशासनले जग्गा र भवन खाली गराई समितिलाई जिम्मा लगाएको हो। मन्दिर व्यवस्थापन समितिले भवन मर्मत गरी धर्मशालाका रूपमा सञ्चालन गर्ने समितिले जानकारी दिएको छ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले अदालतको फैसला तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरेर जग्गा खाली गराइएको बताएका छन् । अब उक्त जग्गा काली मन्दिरकै स्वामित्व र प्रयोजनमा रहने उनले जानकारी दिए।