विराटनगर ।विराटनगरमा सम्पन्न ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा संकलित २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी विपद् पीडितको राहतमा खर्च गरिने भएको छ ।

रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलित भेटी रकमको गणना आइतबार बिहान सम्पन्न भएको हो । श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिनेभएको हो। ।

धार्मिक आस्थासँग जोडिएको रथयात्राबाट संकलित रकम यसपटक सामाजिक सेवामा प्रयोग गर्ने निर्णय समितिले गरेको हो । समितिले उक्त रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगमा उपयोग हुने अपेक्षा गरेको छ ।गत भदौ १० गते रसुवा र नुवाकोटको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएको थियो । बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा पुनःस्थापनाको काम अघि बढिरहेको छ ।

यही क्रममा विराटनगरको ऐतिहासिक रथयात्राबाट संकलित भेटी रकम पनि बाढी प्रभावितको राहतमा लगाउने निर्णय गरिएको हो । धार्मिक कार्यक्रमबाट प्राप्त रकमलाई विपद् प्रभावित नागरिकको सहयोगमा परिचालन गर्ने निर्णयले सामाजिक सेवाको दायरा विस्तार गर्नसमेत योगदान पुग्ने समितिको विश्वास छ ।