मञ्चमा दलमान वि.क. गर्जिरहेका थिए—

“जातीय छुवाछूत एक्काइसौँ शताब्दीमा पनि रहनु मानवताविरुद्धको जघन्य अपराध हो। अब विभेदको अन्त्य हुनैपर्छ।”

सभाहल तालीले गुञ्जियो।

अगाडिको पङ्क्तिमा बसेका कालुराम नेपाली र चन्द्रवीर खत्री पनि ताली बजाइरहेका थिए।

केही दिनपछि दलमानकै घरमा सत्यनारायण पूजा थियो। निम्तो सबैलाई थियो।

पूजा सकियो। प्रसाद बाँड्ने बेला दलमानले चन्द्रवीरतिर हेरे—

“चन्द्रवीरजी, भित्रै आउनुस्।”

चन्द्रवीर भित्र पसे।

कालुराम पनि पछिपछि ढोकासम्म आइपुगे।

दलमानले हात तेर्स्याउँदै भने—

“तिमी चाहिँ बाहिरै बस्।”

कालुरामको पाइला रोकियो।

क्षणभर कसैले केही बोलेन।

चन्द्रवीरले दलमानको अनुहार नियाले। उनलाई मञ्चको त्यही आवाज सम्झना भयो—

“छुवाछूत मानवताविरुद्धको जघन्य अपराध हो...”

अचानक चन्द्रवीरको हात उठ्यो।

चट्याक्क!

झापडको आवाजसँगै घरको हाँसो, कुराकानी र प्रसादको सुगन्ध सबै थामिए।

दलमानले गाला समाउँदै सोधे, “यो के गरेको?”

चन्द्रवीरले भने—

“मञ्चमा तपाईंले जुन छुवाछूतलाई अपराध भन्नुभएको थियो, आज त्यही अपराध तपाईंको ढोकामा देखेँ। झापड तपाईंको गालामा परेको हो, तर चोट तपाईंको भाषणलाई परेको हो।”

दलमान निःशब्द भए।

बाहिर उभिएका कालुरामले ढोकातिर हेरे र बिस्तारै भने—

“जातको पर्खाल भत्काउने भाषण त धेरै सुनियो। आज थाहा भयो—सबैभन्दा अग्लो पर्खाल त आफ्नै घरको ढोकामा रहेछ।”

प्रसाद सबैले लिए ,लिएनन् 

 एउटा कुरा सबैले बुझे—

मञ्चबाट छुवाछूत हटाउनुभन्दा आफ्नै मन र घरको ढोकाबाट हटाउन कठिन रहेछ।

गाेपाल निर्भीक 

विराटनगर