बाटोमा हिँड्दा उनी भेटिइन्,

जसरी हराएको कुनै पुरानो गीत

फेरि हावामा गुञ्जिएझैँ।


हामी दुवै—समयका दुई यात्री,

एउटै धारामा

अनायासै बग्न थालेका थियौँ।


उनी—केही पाइला अघि बढेकी,

म—अझै अनजान यात्रातर्फ उन्मुख।

तर त्यो क्षण,

हाम्रो मुस्कानले दूरीलाई बिसर्जन गर्‍यो,

जसरी सुक्खा कुञ्जभित्र

अचानक वसन्तले

सुगन्धित प्रेमको संगीत छेडिदिन्छ।


हामीले शब्दहरू साटेनौँ,

तर मौनताको त्यो धारा साट्यौँ,

जो आँखाबाट बगेर

मनको अनाम समुद्रमा

समाहित हुँदै गयो।


त्यो पहिलो भेट थियो,

तर मनभित्र यस्तो उज्यालो फैलियो,

जसरी युगौँदेखिको सम्बन्धको

मधुर स्मृति

अचानक जागृत हुन्छ।


हाम्रा भावनाहरू चुपचाप

एकअर्काको हृदयको किनारमा

हिँड्न थाले,

जसरी जुनकिरी चम्किँदै

शान्त उपत्यकामा ओर्लिन्छ।


हामी—जीवनरथका दुई पाङ्ग्रा,

अलग-अलग धुरीमा टेकेका,

तर एउटै ताल, एउटै गति,

अनुभूतिको रेशमी डोरीले बाँधिएका।


हाम्रो मिलन—

नदी र आकाशको पहिलो स्पर्शजस्तै,

जहाँ सीमाना हराउँछ

र केवल प्रवाह बाँकी रहन्छ।


ती केही पलहरूमा

हामीले नदेखिने मौन वाचा गर्‍यौँ—

न छुट्टिने,

न थाक्ने,

न थमिने,

सिर्फ सँगै बग्ने;

अन्धकारमा पनि

एकअर्काका लागि

दीप बनेर बलिरहने।


र फेरि—

आ-आफ्ना बाटातर्फ फर्किँदा पनि

हामीभित्र

एउटा नयाँ घर बसिसकेको थियो—

जहाँ पर्खाल थिएनन्,

सिर्फ प्रेमको खुला आकाश थियो।


हामी छुट्टिएका थिएनौँ,

बस बाहिरी दिशामा

अलग भएका थियौँ।


मनभित्र अहिलेसम्म पनि

हामी—

एउटै जीवनका दुई पाङ्ग्रा बनेर

अनवरत घुमिरहेका छौँ।


मिथिलेश ‘आदित्य’