पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, एक जना बेपत्ता
- असोज ११, २०८३
- १९३ पटक पढिएको
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा अविरल वर्षाका कारण पहिरो खस्दा एक महिलाको मृत्यु भएको छ ।एक जना बेपत्ता भएकी छन्।
आइतबार बिहान करिब ९ः३० बजे माथिबाट खसेको पहिरोले गंगाबहादुर पाइजाको घर पुरिएको हो। घरमा रहेका चार जनामध्ये ७५ वर्षीया शिलकुमारी गर्बुजाको शव बिहान ११ः३० बजे फेला परेको प्रहरीले जनाएको छ।
पहिरोमा परी ५४ वर्षीया योमाया पुर्जा बेपत्ता भएकी छन्। घरका अन्य सदस्य भने सकुशल रहेको जनाइएको छ।
घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय दाना, म्याग्दीबाट प्रहरी सहायक निरीक्षक जुद्धबहादुर थापाको कमाण्डमा तीन जनाको प्रहरी टोली खटिएको छ। टोलीले बेपत्ता महिलाको खोजी तथा उद्धारको पहल गरिरहेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय दानाबाट करिब ८ किलोमिटर उत्तरमा पर्छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




















