विराटनगरमा तास खेलिरहेका बेला पक्राउ परेका बलराम कोइराला प्रहरी हिरासतमै बेहोस
- असोज १३, २०८३
- १४३ पटक पढिएको
विराटनगर। विराटनगर महानगरपालिका-६ स्थितबाट १ बुङ्ग तास र नगद ४८ हजार ३९५ रुपैयाँ सहित तास खेल्ने ८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
तास खेलिरहेको अवस्थामा पक्राउ परेका एक व्यक्ति जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमै बेहोस भएका छन् । विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
सोही घटनामा प्रहरीको टोली देखेपछि भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले घरको दुई तलामाथिबाट हामफालेका छन् । हामफाल्दा उनको दाहिने खुट्टा भाँचिएको छ । उनको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार मुखियाको अवस्था खतरामुक्त रहेकोे बताएका छन् ।
विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा प्रहरीले कोइरालासहित आठ जनालाई पक्राउ गरेको थियो । राति करिब साढे ११ बजे गस्तीमा रहेको प्रहरी टोलीले केही व्यक्ति होहल्ला गर्दै भागिरहेको देखेपछि घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार टोली घटनास्थल पुगेपछि भाग्ने क्रममा मुखियाले घरको दुई तलामाथिबाट हामफालेका थिए । एम्बुलेन्स चालकसमेत रहेका मुखियालाई खुट्टामा चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
प्रहरीले घटनास्थलबाट तास र नगद ४८ हजार ३ सय ९५ रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका सबै आठ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
हिरासतमा रहेका कोइरालालाई मंगलबार बिहान करिब साढे ७ बजे सँगै रहेका साथीहरूले चिया खान उठाउन खोज्दा नबोलेपछि तत्काल कोशी अस्पताल लगिएको थियो । कोशी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।




















