माटोको छाती चिरेर

स्वर्ण खोज्ने मान्छे,

कहिल्यै सुन्यौ

धर्तीभित्र दबिएको

जननीको चीत्कार? 


वनको शिरच्छेद गरी

महल उठाउने मान्छे,

कहिल्यै देख्यौ

निर्वस्त्र पर्वतका आँखाबाट

बगेको रक्तिम अश्रुधार? 


जल थियो

जीवनको प्रथम मन्त्र,

मातृत्वको निर्मल स्पर्श,

ऋषि अञ्जुलिको पवित्र अर्घ्य।

तिमीले त्यसैमा

विषको विसर्जन गर्‍यौ

अब नदी होइन,

आफ्नै पाप पिइरहेछौ। 


वायु थियो

प्राणको अदृश्य वीणा,

पल्लवको मधुर स्पन्दन,

शिशुको पहिलो श्वास।

तिमीले धूम्रले

उसको कण्ठ अवरुद्ध गर्‍यौ।

अब प्रत्येक श्वासमा

मृत्युको मौन पदचाप छ। 


अग्नि थियो

यज्ञको प्रदीप्त आत्मा,

अन्धकारमाथि

ज्योतिको विजयगान।

तिमीले उसैलाई

हिंसाको शस्त्र बनायौ।

अब दावानलले

तिम्रै अहङ्कारको

आरती उतार्दै छ। 


आकाश थियो

अनन्तको नीलो मन्दिर,

मौनभित्र गुञ्जिने

ब्रह्मको आदिम स्वर।

तिमीले कोलाहलले

उसको ध्यान भङ्ग गर्‍यौ।

अब दिशाहरूमा

शान्ति होइन,

प्रलयको प्रतिध्वनि छ। 


निरीह प्राणीका नेत्रमा

त्रास रोपेर,

गोमाताको रक्तले

धरालाई अभिषिक्त गरेर,

कुन देवताको

आराधना गर्छौ तिमी? 


करुणा वध गरेर

धर्म जीवित रहँदैन,

प्रकृति अपमान गरेर

प्रार्थना पवित्र हुँदैन। 


वेदका ऋचा

परिहास होइनन्,

ऋषिदृष्टिका अक्षर

कल्पनाका छाया होइनन्।

भविष्यका अन्धकारभित्र

बलिरहेको दीप हुन् ती,

समयको वक्षस्थलमा लेखिएको

सावधानीको शिलालेख हुन् ती। 


भविष्य मालिका

भयको उद्घोष होइन,

सुप्त चेतनालाई जगाउने

कालको शङ्खनाद हो। 


प्रलय आकाशबाट

अकस्मात् झर्दैन

त्यो त जन्मिन्छ

काटिएको वृक्षको आर्तनादमा,

विषाक्त नदीको वेदनामा,

वधशालातर्फ हिँडिरहेको

निरीह प्राणीको अन्तिम दृष्टिमा। 


थोपा–थोपा अधर्म

जब महासागर बन्छ,

मर्यादाका तटहरू भत्कन्छन्;

पृथ्वी कम्पित हुन्छ,

जल उन्मत्त हुन्छ,

अग्नि विकराल हुन्छ,

वायु प्रचण्ड हुन्छ,

आकाश मौन हुन्छ। 


त्यो मौनताभित्र

एउटै प्रश्न गुञ्जिन्छ

“हे मनुष्य!

सृष्टिको स्वामी थियौ

कि विनाशको साधक?” 


अझै समय छ

पृथ्वीको घाउमा

हरियालीको लेप लगाऊ,

नदीको निधारमा

निर्मलताको चन्दन सजाऊ,

वायुको कण्ठमा

प्राणको गीत फर्काऊ,

अग्निलाई पुनः

यज्ञको ज्योति बनाऊ,

आकाशलाई

शान्तिको मन्त्र सुनाऊ। 


जीवका आँखामा

अभयको दीप बाल,

करुणालाई धर्म बनाऊ,

संयमलाई साधना

र संरक्षणलाई यज्ञ बनाऊ। 


किनकि

प्रकृति प्रतिशोध होइन,

प्रतिबिम्ब हो;

तिमीले जे अर्पण गर्छौ,

त्यही सहस्रगुणा

तिमीतिर फर्काउँछे। 


जसले उसको स्पन्दन बुझ्छ,

ऊ चेतनामा बाँच्छ;

जसले उसको क्रन्दन उपहास गर्छ,

ऊ आफ्नै अविवेकको

अन्धगर्तमा विलीन हुन्छ। 


एक दिन

जब मनुष्यको हृदयमा

पुनः करुणा अङ्कुराउनेछ,

पृथ्वी मन्दिर हुनेछ,

जल अमृत हुनेछ,

अग्नि आरती हुनेछ,

वायु वेदमन्त्र हुनेछ,

आकाश परमात्माको

अनन्त आलिङ्गन हुनेछ। 


र पञ्चतत्त्वले

एकै स्वरमा भन्नेछन्

“सृष्टि तिम्रो सम्पत्ति होइन,

तिमीलाई सुम्पिएको

पवित्र उत्तरदायित्व हो।”

डा. गोपाल पौड्याल 'मण्डने'