नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० जना घाइते
- असोज १७, २०८३
- १४६ पटक पढिएको
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको हो।
बसमा चालकसहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ निवासी ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच जना मृतकको पहिचान खुल्न बाँकी रहेको छ।
दुर्घटनामा घाइते हुनेमा गोरखाका ३० वर्षीय हरिशरण थापा, अछामका २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी २० वर्षीया आकृती, बाजुराका ३२ वर्षीय पवन बुढा, बर्दियाका २८ वर्षीय सञ्जय थारु, बाजुराका २५ वर्षीय प्रेम बम, ललितपुरका २९ वर्षीय अनोज खत्री, बर्दियाका ३६ वर्षीय लालबहादुर कार्की, बाँकेका ४८ वर्षीय अस्लाम भगवान र सल्यानका २१ वर्षीय अनिल बुढाथोकी रहेका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




















