ईरानराईको बालएकाङ्कीसङ्ग्रह ‘जिउँदा सपनाहरू’ सार्वजनिक
- असोज १७, २०८३
- ५६० पटक पढिएको
बेलबारी। मोरङ , साहित्यकार तथा नाटककार ईरानराईको बालएकाङ्कीसङ्ग्रह ‘जिउँदा सपनाहरू’ सार्वजनिक गरिएको छ। बेलबारी साहित्य विकास समितिको आयोजनामा शनिबार आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार तथा पूर्वसांसद हर्कमान तामाङ, कृतिकार ईरानराई, नाटक विषयका विद्यावारिधि डा. गोपीकृष्ण खतिवडा, शिल्पी थिएटर काठमाडौंका निर्देशक घिमिरे युवराजलगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।
कार्यक्रममा नगरप्रमुख राईले नाटकले विद्यार्थीलाई सिर्जनशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै ‘जिउँदा सपनाहरू’ समाज र शिक्षाका लागि उपयोगी कृति रहेको उल्लेख गरे। वरिष्ठ साहित्यकार तामाङले नाटकले मानिसलाई सही मार्गमा डोर्याउन प्रेरित गर्ने भन्दै यस कृतिले पनि सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कृतिकार ईरानराईले आफूले २०४२/०४३ सालदेखि नाटक लेखन, निर्देशन र मञ्चन गर्दै आएको स्मरण गरे। उनले विशेषगरी अहिलेका बालबालिकालाई स्क्रिनको अत्यधिक प्रयोगबाट टाढा राख्दै सिर्जनात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले बालएकाङ्की लेखेको बताए।
समीक्षक डा. गोपीकृष्ण खतिवडाले केही संशोधन गर्नुपर्ने पक्ष रहे पनि सङ्ग्रहका एकाङ्की उत्कृष्ट र मञ्चनयोग्य रहेको बताए। बालबालिकासँगै शिक्षक, अभिभावक र नीतिनिर्माताले समेत पढ्नुपर्ने कृति भएको उनको भनाइ थियो। अर्का समीक्षक घिमिरे युवराजले एकाङ्कीहरू उत्कृष्ट रहेको उल्लेख गर्दै मञ्चनका क्रममा थप क्रियाकलाप समेट्न सकिने सुझाव दिए।
‘जिउँदा सपनाहरू’ मा ‘कुसुनी’, ‘कपाल र नङपालिस’, ‘तामा र टुसा’, ‘सुध्रिने बाचा’, ‘जिउँदा सपनाहरू’, ‘भूमिका’, ‘ट्युसन’, ‘आजको खाना’, ‘म्याग्मादेखि लाभासम्म’ र ‘डर’ गरी १० वटा बालएकाङ्की समेटिएका छन्। पुस्तकमा पीडीएफमार्फत पढ्न र अनलाइन भुक्तानी गर्न छुट्टाछुट्टै क्यूआर कोडसमेत राखिएका छन्।
कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्य तथा साहित्यकार जेबी थुलुङको सञ्चालनमा सगरमाथा इङ्ग्लिस स्कुल, बेलबारी–१ मा सम्पन्न भएको थियो।
डिजिटल युगमा बालएकाङ्कीको महत्त्वबारे अन्तरक्रिया
यसैबीच, बालबालिकालाई स्क्रिनको अत्यधिक प्रयोगबाट जोगाउँदै सिर्जनशील बनाउन ‘डिजिटल युगमा बालएकाङ्कीको महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ।
अन्तरक्रियामा पूर्वसांसद हर्कमान तामाङले विषय संवेदनशील र आवश्यक रहेकाले यसबारे थप छलफल गर्नुपर्ने बताए। बेलबारी नगरप्रमुख दिलप्रसाद राईले सूचना प्रविधिको दुष्प्रभाव न्यूनीकरण गर्न बालबालिकालाई सानैदेखि नाटक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउनुपर्नेमा जोड दिए।
साहित्यकार तथा नाट्यकर्मी ईरानराईले नाटकले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकासमा प्रभावकारी भूमिका खेल्ने बताए। उनले बालबालिकालाई दैनिक कम्तीमा एक घण्टा नाटक अभ्यासमा लगाउन सकिने धारणा राखे।
उपप्राध्यापक डा. गोपीकृष्ण खतिवडा, उपप्राध्यापक डा. दीपक न्यौपाने र रङ्गकर्मी घिमिरे युवराजले बालएकाङ्कीले बालबालिकालाई स्क्रिनको अत्यधिक प्रयोगबाट टाढा राख्दै सिर्जनशील बनाउन सहयोग गर्ने बताए।
कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत् बस्नेत, शब्द थिएटर पथरीका निर्देशक जीवन बराल तथा रङ्गकर्मी एवं साहित्यकार भरत गुरागाईँ बर्बरिकलगायतले प्रस्तुत विचारमाथि टिप्पणी गरेका थिए।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन विकास बुढाथोकीले गरेका थिए। कार्यक्रम बेलबारी–२ स्थित सुदर्शन रिसोर्टमा आयोजना गरिएको थियो।
दुवै कार्यक्रममा साहित्यकार, नाट्यकर्मी, चलचित्रकर्मी, शिक्षाविद् तथा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।





















