कानेपोखरी। मोरङ ,कोसी साहित्य–कला परिषद् नेपाल (कोसाक) ले बालबालिकामा पठन संस्कृति विकास गर्ने उद्देश्यले अभिभावकलाई पुस्तकसँग जोड्ने अभियान सुरु गरेको छ।

बालबालिकामा पठन बानी घट्दै गएको अवस्थालाई ध्यानमा राख्दै संस्थाले मोरङको कानेपोखरी गाउँपालिका–४, बयरवनस्थित न्यु भिजन विद्या मन्दिरको सभाहलमा ‘बालबालिकाको पठन संस्कृति अभिवृद्धिका लागि अभिभावक परामर्श’ कार्यक्रम आयोजना गरी अभियानको सुरुआत गरेको हो।

कानेपोखरी गाउँपालिका–४ का वडाध्यक्ष रमेश राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोसाकका अध्यक्ष केशु विरही, वडाका जनप्रतिनिधि प्रदीप राई, विद्यालयका निर्देशक गणेश पोखरेल, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहजीकरण गर्दै लेखक तथा अनुसन्धाता केशु विरहीले बालबालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा भएकाले उनीहरूको पठन बानी विकासमा अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताए।

२४ घण्टामध्ये १८ घण्टाको समय बालबालिकाले आफ्ना अभिभावकसँग बिताउने गर्छन्। त्यसैले अभिभावकको व्यवहारले उनीहरूमा ठूलो प्रभाव पार्छ,’ उनले भने, ‘छोराछोरीको पठन संस्कृति बढाउनु छ भने अभिभावकबाटै सुरु गर्नुपर्छ। आफूले पढेको देखेर मात्र बालबालिकाले पनि पढ्ने बानी विकास गर्छन्।’

विरहीले बालबालिकाको सिकाइमा साहित्यिक पुस्तकको महत्त्व उल्लेख गर्दै विभिन्न अवसरमा उपहारका रूपमा पुस्तक दिने बानी विकास गर्न पनि अभिभावकलाई आग्रह गरे।

कार्यक्रममा वडाध्यक्ष रमेश राउतले बालबालिकामा पठन संस्कृतिको विकास घरबाटै सुरु गर्नुपर्नेमा जोड दिए। यसअघि माथिल्लो तहबाट मात्रै परिवर्तनको प्रयास गर्दा अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै उनले अभिभावकलाई केन्द्रमा राखेर सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। पूर्वशिक्षकसमेत रहेका राउतले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्ने बताए।

विद्यालयका निर्देशक गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोसाकका सचिव नवराज पोखरेल ‘नवशिला’ ले गरेका थिए।

कोसाकले सन् २०८३ लाई बालबालिका वर्षका रूपमा लिएर बालबालिकासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले बालसाहित्यको विकास र प्रकाशनलाई समेत प्राथमिकता दिएको छ।

यसै वर्ष संस्थाका अध्यक्ष केशु विरहीको ‘उपहार’ बालचित्रकथा, उपाध्यक्ष विष्णु भण्डारी आचार्यको ‘पुतलीको बिहे’ बालकवितासङ्ग्रह र सचिव नवराज पोखरेल ‘नवशिला’ को ‘परी भएँ म’ बालकवितासङ्ग्रह प्रकाशित भएका छन्।

Messenger_creation_98929F0D-0E2D-4BE6-B4DD-C2672DE2BFCCMessenger_creation_F5F07C77-AE60-4383-A636-B9508557BCEC