नवलपरासी ।बर्दघाट सुस्ता पूर्व,नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगर रहेका छन् ।

पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर चालकले नियन्त्रण गुमाउँदा सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएको थियो । दुर्घटनामा ट्याक्टरबाट सडकमा खसेर घाइते भएका मगरलाई उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याइएको थियो ।

अस्पतालमा उपचारका लागि पुर्‍याइएका मगरलाई बिहान ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।