विराटनगर । साहित्यिक सिर्जना, रचना वाचन तथा विमर्शको संस्कृतिलाई संस्थागत गर्ने उद्देश्यले काव्य उद्यान नेपालले आयोजना गरेको पहिलो मासिक रचना वाचन तथा विमर्श कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।

विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न विधाका स्रष्टा, साहित्यकार तथा साहित्यप्रेमी गरी चार दर्जनभन्दा बढीको सहभागिता रहेको थियो।

काव्य उद्यान नेपालका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी स्रष्टा समाजकी अध्यक्ष तथा साहित्यकार ममता मृदुल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा सिर्जना मञ्च, इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल र चारु प्रतिष्ठानका अध्यक्ष देवी पन्थीले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरे।

कार्यक्रमका अवसरमा चारु प्रतिष्ठानका अध्यक्ष देवी पन्थीद्वारा शृङ्खलाको चारु अङ्क लोकार्पण गरिनुका साथै साहित्यकार तारक धितालको ‘जोडी कविता’ कृति विमोचन गरिएको थियो। कृति लोकार्पण र विमोचनले कार्यक्रमलाई सिर्जना, प्रकाशन तथा साहित्यिक संवादको महत्त्वपूर्ण अवसरका रूपमा स्थापित गरेको थियो।

कार्यक्रममा सप्तकोशी साहित्य मञ्चका अध्यक्ष तथा लघुकथा विमर्शका संयोजक रमेन्द्र कोइरालाले लघुकथाका विशेषता, संरचना र लेखनका आधारभूत पक्षबारे चर्चा गरे। उनले लघुकथा छोटो आकारको विधा भए पनि यसको कथ्य, अन्तर्वस्तु र प्रभाव सशक्त हुनुपर्नेमा जोड दिए। उनले लघुकथा लेखनमा ‘५/१ को सूत्र’ सम्बन्धमा समेत संक्षिप्त मन्तव्य राखेका थिए।

कार्यक्रममा काव्य उद्यान नेपालका चार जना आजीवन सदस्य र एक जना सल्लाहकार सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्र वाचन संस्थाका सचिव केशव रिजालले गरेका थिए। संस्थाका उपाध्यक्ष ऋषि तिवारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव सुशीला प्रसाईं दंगालले गरेकी थिइन्।

कार्यक्रममा स्वर सङ्गीतालयका प्रमुख कुशेश्वर राई, नोबेल साकोस साहित्य संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहाल, समालोचक तथा काव्य उद्यान नेपालका सल्लाहकार भवानी पोखरेल र नेपाली लेखक संघकी सचिव निर्मला कोइरालालगायतको आतिथ्यता रहेको थियो।

त्यसैगरी संस्थाका कोषाध्यक्ष अंशुकुमार गुप्ता, जयन्त प्रधानाङ्ग, प्रेमप्रसाद रिजाल, हीराप्रसाद मण्डल, लक्ष्मी युग्मी, लक्ष्मी रायमाझी, कुमार श्रेष्ठ, रामप्रसाद भट्टराई, चुडामणि घिमिरे, तारा श्रेष्ठ, शारदा भट्टराई, अच्युतमणि पौडेल, नानुमैयाँ दाहाल, हरिलाल चौधरी, गोपाल निर्भीक, सुजाता राई, शरद प्रधानाङ्ग, उद्धव केसी, अशोक निरौला, सुरेशकुमार अग्रवाल, शान्ता कर्ण र किस्मत खतिवडालगायत साहित्यकार तथा साहित्यअनुरागीहरूको सहभागिता थियो।

कार्यक्रममा सहभागी स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गर्नुका साथै रचनाको विषयवस्तु, शिल्प, शैली, भाषा र संरचनाबारे विचार–विमर्श गरेका थिए। साथै समकालीन साहित्यका विविध आयाममाथि छलफल गर्दै सिर्जनाको समीक्षा र आत्ममूल्याङ्कनसमेत गरिएको थियो।

काव्य उद्यान नेपालको पहिलो मासिक रचना वाचन तथा विमर्श कार्यक्रमले विराटनगरमा नियमित साहित्यिक सिर्जना, वाचन र विमर्शको अभ्यासलाई अघि बढाउने अपेक्षा गरिएको छ। साहित्यिक संस्थाबीच सहकार्य बढाउने, नयाँ स्रष्टालाई प्रोत्साहन गर्ने र स्थापित स्रष्टाका अनुभव नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ।

FB_IMG_1791128417884Messenger_creation_5768B5C4-AF00-4468-9CEB-C1CDFAF67594