कविता -:कुर्सी खाली भएपछि
- असोज २१, २०८३
- १३१ पटक पढिएको
कुर्सी खाली भएपछि
नामको ट्याग त हट्यो नै,
ऐनामा देखिने त्यो ‘म’ पनि
कता हरायको ,थाहै भएन।
ढोकाको अगाडी पहरेदारी गर्ने गार्ड दाइको कडक सलाममा
पग्लिने इज्जत,
महिनाको अन्त्यमा गोजीमा खस्ने
कागजका बिटासँगै
हातबाट फुत्कियो
वर्षौँदेखि बोकेको परिचय।
त्यो कोठा,,,
जहाँ फाइलका चाङले
झ्यालबाट छिर्न खोज्ने घामसमेत रोक्थे,
टेबल क्यालेन्डरका पानासँगै
मेरो उमेर च्यातिँदै जान्थ्यो।
दराजभित्र थन्किएका निर्णयका ठेलीमा
कसैको भविष्य बन्थ्यो,
कसैको सपना भत्किन्थ्यो,
र म भने
त्यही अँध्यारो कुनामा
आफ्नै उज्यालो बिर्सिंदै थिएँ।
चिया गफमा उड्ने हाँसो,
सहकर्मीहरूको भीडमा मिसिएको उपस्थिति,
र घर फर्किंदा ढोकामै पर्खिने
श्रीमती र छोरा छोरी
को निश्छल मुस्कान,
सबैको अर्थ आज फेरिएको छ।
सायद त्यो मुस्कानमा
मप्रतिको प्रेमभन्दा बढी
मेरो पदको छायाँ थियो।
आज
ती सबै कुवाको पानीझैँ सुके।
पैसाको जगमा उभिएको
नक्कली महल ढल्यो।
सलाम रोकियो,
फोनहरू मौन भए,
ढोकाहरू आफैँ बन्द भए।
र बाँकी रह्यो-
मात्र एउटा मान्छे।
निरीह मान्छको खोल ओडेको ब्यक्ती
न पद,
न पावर,
न प्रतिष्ठाको कवच।
पावरको सिँढीबाट झरेर
सत्यको मैदानमा
नाङ्गो खुट्टा उभिएको
एउटा निरीह मान्छे,
जसले पहिलोपटक
अरूको आँखामा होइन,
आफ्नै आँखामा हेरेर सोध्यो,
“म कुर्सी थिएँ कि मान्छे?”
ऐनाले जवाफ दिएन।
तर मौनताले भन्यो,
कुर्सी गुमेको होइन,
आज बल्ल ‘म’ भेटिएको हो।
जमुना क्षेत्री
इटहरी



















