रङ्गेली ।मोरङको रङ्गेली नगरपालिका–८, दर्वेशास्थित महालक्ष्मी माध्यमिक विद्यालयमा विजयादशमी २०८३ को अवसरमा विभिन्न जातजातिका विद्यार्थीले आ–आफ्नो जातीय संस्कृति झल्कने पहिरनसहित सहभागिता जनाएका छन्।

विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै विद्यार्थीलाई विभिन्न जातजातिको संस्कार, संस्कृति र परम्पराबारे जानकारी दिँदै सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा जोड दिँदै आएको छ।

शिक्षकहरूका अनुसार विद्यालयमा विभिन्न जातजातिका विद्यार्थीलाई आफ्नो मौलिक संस्कृति झल्कने पहिरनमा सहभागी गराउनुको उद्देश्य आफ्नो जातीय पहिचान, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो। यस्ता गतिविधिले विद्यार्थीमा आफ्नो संस्कृतिप्रति सम्मान र अपनत्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास विद्यालयको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका थिए। विद्यालयले शिक्षासँगै संस्कार, संस्कृति र सामाजिक सद्भावको महत्त्व बुझाउने यस्ता गतिविधिले विविधताबीच एकता कायम गर्न सहयोग पुग्ने जनाएको छ।

यस अवसरमा महालक्ष्मी माध्यमिक विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

IMG-20261009-WA0004