विराटनगर।नेपालीहरूको प्रमुख चाड बडादसैं आजदेखि सुरु भएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा विधिपूर्वक पूजा गरी जमरा राखिँदै घटस्थापनासँगै नौ दिनसम्म चल्ने नवरात्र सुरु भएको छ ।

घटस्थापनाका दिन धार्मिक विधिअनुसार घरको पूजाकोठा वा शुद्ध स्थानमा कलश स्थापना गरी दुर्गा भवानीको आह्वान गरि  जौ लगायतका सप्तधान्य छरेर जमरा राख्ने परम्परा छ । दसैंको दसौँ दिन विजयादशमीमा यही जमरा टीकासँगै मान्यजनबाट आशिर्वाद  ग्रहण गरिन्छ ।

नवरात्रका नौ दिनसम्म शक्तिस्वरूपा दुर्गा भवानीका नौवटा रूपको पूजा–आराधना गरिन्छ । पहिलो दिन शैलपुत्रीको पूजा गरेर सुरु हुने नवरात्र दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजासँगै अघि टीका जमरा लगाइन्छ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गर्ने धार्मिक परम्परा छ । दीप, कलश र गणेश स्थापना गरी दुर्गासप्तशती पाठ तथा विभिन्न मन्त्रको उच्चारणसहित पूजा गरिन्छ । देवीको आराधनाले शक्ति, साहस, ज्ञान र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

रोजगारी, अध्ययन तथा विभिन्न कारणले घरबाहिर रहेका परिवारका सदस्यसमेत दसैं मनाउन घर फर्किने भएकाले यो पर्वलाई पारिवारिक पुनर्मिलनको अवसरका रूपमा लिइने गरेको छ ।

नवरात्रभर देवीको पूजा–आराधना गरेपछि दसौँ दिन विजयादशमीमा रातो टीका, जमरा र मान्यजनको आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।