बेलबारीमा प्रहरी हिरासत पुस्तकालय स्थापना बेलबारी, मोरङ
- असोज ३०, २०८३
- ४११ पटक पढिएको
बेलबारी, मोरङमा, २०८३ असोज २९ ,लेखकहरूले पाठक नभेट्टाइरहेको गुनासोका बिच थुनुवा आगन्तुक र प्रहरीहरू स्वयंलाई पनि सेवा पुग्ने गरी इलाका प्रहरी कार्यालय, बेलबारी, मोरङमा ‘प्रहरी हिरासत पुस्तकालय’ स्थापना गरिएको छ ।
कतिपय जिल्लाहरूको भन्दा बढी जनताहरूको यस बेलबारी इलाका प्रहरी कार्यालयले सेवा र सुरक्षा गर्नुपर्ने भएकोले यस कार्यालयमा थुनुवा, आगन्तुक र प्रहरीहरूको सङ्ख्या बढी हुने भएकोले यो पुस्तकालय स्थापनाले उहाँहरूले समय कटाउने मात्र नभएर ज्ञान र शिक्षा पनि प्राप्त गर्न सक्ने देखिएकोले प्रहरी हिरासत पुस्तकालय आवश्यक भएको प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बताए ।
कतिपय देशका नेताहरूले राजनीतिक बन्दीका रूपमा जेलभित्र नै स्वअध्ययन गरी उच्च स्तरको ज्ञान आर्जन गरेको र उनिहरूको विश्वविद्यालय नै कारागार भएकोले थुनुवाहरूले पनि मनोरञ्जनका साथमा ज्ञान र चेतना वृद्धि गर्न सक्ने देखिएकोले प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको साहित्यकार ईरानराईले बताएका छन् ।
१८ वर्षको सेवावधिमा सबैभन्दा बढी सजिलो र आफ्नै किसिमले काम गर्न बेलबारीमा पाएको, र किन सहजता पाएँ
भन्दा तपाईँहरू धेरै जना शिक्षित र सिर्जनशील हुनुहुँदोरहेछ भन्दै पुस्तकालयको भरपूर सदुपयोग गर्ने प्रतिबद्धता इलाका प्रहरी कार्यालय, बेलबारीका प्रमुख प्र.नि. राजीव गिरीले जनाए ।
पुस्तकालयले नकारात्मक सोच भएका थुनुवाहरूलाई परिवर्तन गरी सकारात्मक र सिर्जनशील बनाउने र यस क्षेत्रमा नै सकारात्मक सन्देश दिने आयोजक अध्यक्ष रमेश निरौलाले विश्वास जनाए।
कार्यक्रममा संविधान सभा सदस्य तथा साहित्यकार मधु गुरुङ, बेलबारी वडा नं. २ का वडाध्यक्ष कृष्ण गुरुङ, कार्यपालिका सदस्य सञ्चमाया लिम्बू, समाजसेजी तथा राजनीतिकर्मी परसुराम सुवेदी, गीता सिबा, जेबी थुलुङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, प्रलेस केन्द्रीय सदस्य तिला लेकाली, विभिन्न साहित्यिक संस्थाका अध्यक्षहरू यज्ञराज सुसेली, पूरन याखा, धनजित पराजुली, भरत बर्बरिक, केशु विरही तथा साहित्यकारहरू प्रेम गुरुङ प्रताप, भीम बस्नेत, बादल चाम्लिङ, नवराज पोखरेल नवशिला, गीता श्रेष्ठ, राजु परियार, टीकालाल धिमाल, चण्डी साङपाङलगायतको आतिथ्य रहेको थियो ।
हाल उक्त पुस्तकालयमा विभिन्न दाताहरूले प्रदान गर्नुभएका तीन सयभन्दा बढी पुस्तकहरु रहेका छन् । इच्छुक दाताहरूले इ.प्र.का. बेलबारीलाई आफ्ना साहित्यिक, ज्ञानवर्धक र सकारात्मक सोच निर्माण गर्ने किसिमका पुस्तकहरू प्रदान गर्न सक्नेछन् ।
कार्यक्रममा रमेश निरौलाको अध्यक्षता, कोषाध्यक्ष शिव पराजुलीको सञ्चालन र उपाध्यक्ष गोविन्दराज हुक्पा चोङबाङको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम इलाका प्रहरी कार्यालय, बेलबारीको आगन्तुक चौतारामा बेलबारी साहित्यका विकास समितिले आयोजना गरेको थियो ।






















