धरान । विपद् व्यवस्थापनमा विद्यार्थीहरूलाई कसरी सहभातिगा गराउने भन्ने उद्देश्यले धरान–१५ को के के इन्टरनेसनल स्कुलले विद्यार्थीहरूलाई भूकम्प र आगलागीजस्ता विपद्मा कसरी सुरक्षित रहने भन्ने विषयमा जीवनरक्षक उपायहरू सिकाइएको छ ।
नेपाल स्काउटका प्रशिक्षक सन्तोष कोइरालाको नेतृत्वमा विपद् व्यवस्थापन, उद्धार प्रविधि, प्राथमिक उपचार, र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीहरूबारे व्यावहारिक जानकारी दिए । विद्यार्थीहरूले प्रत्यक्ष अभ्यासमार्फत सुरक्षित स्थान खोज्ने, आगलागी हुँदा अपनाउनुपर्ने उपाय र आपत्कालीन प्रतिक्रियाका उपायहरू सिक्ने अवसर पाएको विद्यालयका प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीले जानकारी दिए । यस्तै सोमबार कक्षा १ का बालबालिकाहरूलाई पनि भूकम्पसम्बन्धी चेतनामूलक प्रदर्शनी गराइएको विद्यालयले जनाएको छ । साना बालबालिकाहरूलाई भूकम्पका बेला कसरी सुरक्षित बस्ने भन्ने व्यवहारिक ज्ञान दिइएको हो । विद्यालयमा किताबी ज्ञानसँगै व्यवहारिक शिक्षासमेत प्रदान गर्ने उद्देश्यले यस्ता विपद्बारे अवगत गराइएको प्रिन्सिपल बुढाथोकीले बताए । विपद्प्रति चेतना र तयारीका लागि आयोजित यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारी र सजगता विकास गराउने उनले बताए ।




















