विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको मृत्यु भएको छ। २५ वर्षीय पोखरेलको बुधबार मध्यराति दुर्घटनामा मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर महानगरपालिका–१० स्थित निर्मल जल उद्योग नजिक राति करिब १२ बजे मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो। जन्मदिन मनाएर घर फर्किने क्रममा पोखरेल दुर्घटनामा परेका थिए।

दुर्घटनामा परी बेहोस भएका पोखरेललाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

विराटनगर महानगरपालिका–१ निवासी पोखरेल विद्यार्थी राजनीतिमा सक्रिय थिए। उनी जीपी कोइराला फाउन्डेसन मोरङको युवा कार्यदलका अध्यक्षसमेत रहिसकेका थिए।

जन्मदिन मनाएर घर फर्किने क्रममा पोखरेलको मृत्यु भएपछि परिवार, आफन्त तथा विद्यार्थी वृत्तमा शोक छाएको छ।