विराटनगर।अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । आज विराटनगर धरान, इटहरी, इनरुवा, बराहक्षेृत्र, दुहवीलगायत जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।

पोखरी, तलाउ तथा नदी किनारामा बनाइएको स्थायी छठघाटलाई सिँगारेर चिटिक्क पारिएको छ । 

छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य  दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ । 

बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ । 

छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य  दिने गरिन्छ ।