विराटनगर।कर प्रणालीको सार, लगानीको आधार” मूलनाराका साथ शनिबारदेखि १३औं राष्ट्रिय कर दिवस कर सप्ताह सुरु भएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको आयोजना गरेको छ । मंसिर १ गते सुरु भएको १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको मंसिर ७ गते शुक्रबार समापन हुनेछ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यको अध्यक्षतामा सम्पन्न १३औं राष्ट्रिय कर दिवस  कर सप्ताहको उद्‌घाटन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल, संघिय कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङका प्रमुख टोमनाथ उप्रेती, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष दिपक पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यालयले उद्घाटन समारोहको आयोजना गर्नु अघि प्रभात फेरी कार्यक्रम गरेका थिए । 

आन्तरिक राजश्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको अवसरमा मंसिर २ गते आइतबार प्रथम सेवा ग्राहीलाई सम्मान गर्ने कार्यक्रम तय गरेका छन् ।